१८ आश्विन २०८३, आइतबार | October 4, 2026

कांग्रेसमा २१ सदस्यीय पदाधिकारी बन्ने, वरिष्ठसहित चार उपसभापति रहने



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या १७ बाट बढाएर २१ पुर्‍याउने तयारी गरेको छ । पार्टीको १५औँ महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरी पारित गराउने उद्देश्यसहित पदाधिकारीको संख्या र संरचनामा हेरफेर गर्न लागिएको हो ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिमा भएको छलफलअनुसार अब कांग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २१ जना पदाधिकारी रहने प्रस्ताव अघि सारिएको छ ।

हाल कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

नयाँ प्रस्तावअनुसार उपसभापतिको संख्या दुईबाट बढाएर चार पुर्‍याइनेछ । चार उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति रहनेछन् भने कम्तीमा एक जना महिला उपसभापति अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । चारै जना उपसभापति निर्वाचनबाट चयन हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्‍याउने समझदारी बनेको छ । प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने दुई जना केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिनेछ ।

हाल कांग्रेसमा आठ समावेशी समूहबाट आठ जना सहमहामन्त्री निर्वाचित हुने र तीन जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विशेष महाधिवेशनबाट तीन जना मनोनीत सहमहामन्त्री थपिएपछि यो संख्या ११ पुगेको थियो । अब थप दुई पद सिर्जना गरी सहमहामन्त्रीको संख्या १३ पुर्‍याउन लागिएको हो ।

महामन्त्रीको संख्या भने दुईमै कायम राख्ने समझदारी भएको छ । महामन्त्रीको संख्या बढाएर तीन पुर्‍याउने र महिलाका लागि छुट्टै महामन्त्री पद सिर्जना गर्ने विषयमा पनि छलफल भए पनि त्यसमा सहमति जुट्न नसकेको नेताहरूले बताएका छन् ।

कोषाध्यक्षको व्यवस्था भने यथावत् रहनेछ । केन्द्रीय सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कार्यसमिति पनि २३२ सदस्यीय बनाउने तयारी गरिएको छ । संशोधित विधानअनुसार १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने बाँकी ६१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधान संशोधन समितिले तयार पार्ने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेस गरी अनुमोदन गराउने नेताहरूको तयारी छ । प्रस्ताव पारित भए कांग्रेसको संगठनात्मक संरचना र नेतृत्व तहमा उल्लेख्य परिवर्तन हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : ५७ बजे

बेनी-जोमसोम-कोरला सडकको अवरोध हटाइँदै

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, शीर्ष नेताहरूको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ

दसैँ नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला

पार्टी कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले पार्टीको केन्द्रीय

उर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४००