काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो ।
त्रिविले बिहीबार नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा त्रिविको बजेट २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँ थियो ।
त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीका अनुसार प्रस्तावित बजेटलाई नियमित कार्यक्रम, आन्तरिक कार्यक्रम र विकास कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ ।
कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, कुल बजेटको ८६.१४ प्रतिशत अर्थात् अधिकांश रकम सञ्चालन खर्चतर्फ र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गर्ने प्रक्षेपण गरिएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँ कम हो ।
सरकारबाट प्राप्त हुने अनुदान घट्नुका साथै राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र वृद्धि भएको रकममा थप १० प्रतिशत प्रोत्साहन भत्ताको दायित्वसमेत थपिएपछि त्रिविलाई ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने देखिएको रजिस्ट्रार शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसके त्रिविले अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न कठिन हुने अवस्था छ ।
अनिवार्य दायित्वअन्तर्गत आवश्यक रकम व्यवस्था गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै शिवाकोटीले अपुग रकमको व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपति समक्ष अनुरोध गरेका छन् ।
यस वर्ष त्रिविले विगतको तुलनामा ढिला गरी बजेट सार्वजनिक गरेको हो । त्रिविले सामान्यतः साउनमै बजेट ल्याउने गरेको भए पनि यसपटक सिनेटर नियुक्ति हुन नसक्दा बजेट ल्याउन ढिलाइ भएको जनाइएको छ ।
















प्रतिक्रिया