काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो ।
काठमाडौं गोर्खाजले भने एनपीएलको तेस्रो संस्करणमा आज पहिलो खेल खेल्दैछ । पहिलो खेलमै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने काठमाडौंका कप्तान करण केसी हुन् भने जनकपुरको नेतृत्व अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले गर्दैछन् ।
यसैगरी, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।
कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगर भने आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्ससँग आठ रनले पराजित भएको थियो । दोस्रो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दैछन् ।
















प्रतिक्रिया