काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकारमाथि धरपकड तीव्र पारेको छ। शुक्रबार सादा पोशाकमा विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेको प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।
नेपाल प्रेसमा कार्यरत सुवेदीलाई मीनभवनस्थित कार्यालयको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। सादा पोशाकमा आएका प्रहरी समाचार कक्षभित्र प्रवेश गरी समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै उनलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिएर गएको नेपाल प्रेसले जनाएको छ।
नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलका अनुसार सुवेदीलाई पक्राउ गर्नुअघि प्रहरीले कुनै पक्राउ पुर्जी देखाएको थिएन। नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई पनि प्रहरीले साइबर ब्यूरोमा उपस्थित हुन फोन गरेको थियो। उनीहरू ब्यूरोमा उपस्थित भएको पौडेलले जानकारी दिएका छन्।
नेपाल प्रेसले केही दिनअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको विषयमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको स्रोत खोज्ने क्रममा सुवेदीलाई नियन्त्रणमा लिइएको नेपाल प्रेसका सम्पादक पौडेलले बताएका छन्। प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा उनलाई पक्राउ गरिएको हुन सक्ने स्रोतको दाबी छ। यद्यपि, प्रहरीले पक्राउको आधिकारिक कारण सार्वजनिक गरिसकेको छैन।
यसैगरी, मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उता, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत सादा पोशाकका प्रहरी पुगेका छन्। अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको बताउने चारदेखि सात जनाको प्रहरी टोलीले पत्रकार नवराज मैनालीलाई खोजिरहेको नयाँ पत्रिकाले जनाएको छ।
नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले माथिल्लो निकायको आदेश भन्दै मैनालीलाई कार्यालयमा उपस्थित गराउन दबाब दिएको छ। तर, प्रहरीले पक्राउ पुर्जी भने नल्याएको उनले बताएका छन्। मैनालीलाई लिएर जाने भन्दै प्रहरी टोली समाचार कक्षमै बसेको जनाइएको छ।
नयाँ पत्रिकाले बिहीबार पत्रकार मैनालीको बाइलाइनमा बिचौलिया इनाम सापकोटा र न्यायालयबीच आर्थिक सम्बन्ध रहेको विषयमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारकै विषयलाई लिएर प्रहरीले मैनालीलाई नियन्त्रणमा लिन खोजेको हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, अनलाइन सञ्चारमाध्यम दियोपोस्ट डटकमको अनामनगरस्थित कार्यालयमा पनि सादा पोशाकका प्रहरी पुगेको बताइएको छ। प्रहरीले प्रधानसम्पादक र सम्पादकको खोजी गरिरहेको जनाइएको छ। दियोपोस्टले पनि इनाम सापकोटा र न्यायालयबीचको सम्बन्धबारे समाचार प्रकाशित गरेको थियो।
यसरी एकपछि अर्को सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारको खोजी तथा नियन्त्रणको प्रयास भएपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे प्रश्न उठेको छ।
यसअघि प्रेस काउन्सिल नेपालले पनि सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको थियो। काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमतिसमेत नलिइएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको उल्लेख गर्दै पक्राउको कानुनी आधार सार्वजनिक गर्न माग गरेको छ।
समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको भएको स्मरण गराउँदै काउन्सिलले समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ।
















प्रतिक्रिया