काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीस)ले बिहीबार नेपालले गर्ने इंग्ल्यान्ड भ्रमणको खेल तालिका सार्वजनिक गर्दै उक्त खेलको घोषणा गरेको हो ।
क्रिकेटको घरका रूपमा परिचित लर्ड्स मैदानमा नेपाल र बंगलादेशबीच हुने यो प्रतिस्पर्धा दुवै देशका क्रिकेट समर्थकका लागि विशेष अवसर हुनेछ । यस खेलसँगै लर्ड्समा एउटै दिन पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका खेल आयोजना हुनेछन् । एमसीसीका अनुसार, मैदानको इतिहासमा पहिलोपटक एउटै दिन पुरुष अन्तर्राष्ट्रिय क्रिकेट र मिडलसेक्सको टी–२० ब्लास्टअन्तर्गतको घरेलु खेल हुन लागेको हो ।
नेपाल र बंगलादेशबीचको टी–२० खेल नेपाली र बंगलादेशी दर्शकलाई लक्षित गरी टेलिभिजन प्रसारणको उपयुक्त समयअनुसार निर्धारण गरिने एमसीसीले जनाएको छ । सोही दिन हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु खेल तालिका सार्वजनिक भएपछि तय हुनेछ ।
नेपालले लर्ड्स मैदानमा दोस्रोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०१८ मा नेपालले त्यही मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो ।
बंगलादेशको पुरुष टोलीका लागि भने लर्ड्समा यो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । बंगलादेशको महिला टोलीले यसअघि सन् २०२६ मा लर्ड्समा खेलेको थियो ।
















प्रतिक्रिया