१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आईसीयू बेड अभावमा कोरोना सङ्क्रमितले ज्यान गुमाउँदै



धरान । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो ।

बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पु¥याउनेबित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी दिए ।

धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो । एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेका उनलाई कोरोना सङ्क्रमण भयो ।

प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनको ज्यान गयो । धरानमा मात्र अस्पताल जान नपाई १३ जनाको होम आइसोलेशनमा मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिष्ठानको तथ्याङ्कअनुसार मंगलबार बिहानसम्म ६६ संक्रमितले ज्यान गुमाएको प्रतिष्ठानका सहप्रवक्ता डा. शाशिष श्रेष्ठले जानकारी दिए । प्रदेश नं १ मा सोमबार साँझसम्म मृतकको संख्या १३६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रदेश सरकारले गत जेठमै दुई हजार श्ययाको आइसोलेशन वार्ड बनाउने घोषणा गरे पनि अहिलेसम्म काम शुरु भएको छैन । प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेशनसहितको अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन् ।

बिरामीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । प्रतिष्ठानले बिरामीको चाप थेग्न नसक्ने भनी सम्पर्क गरेर मात्र ल्याउन अस्पताल प्रशासनले १५ दिनअघि सूचना नै जारी गरेको थियो । बिरामी धान्न नसकेको जनाई अस्पताल प्रशासनले स्थानीय तहहरुलाई लकडाउन गर्नसमेत सुझाव दिएको थियो ।

पछिल्लो समय सङ्क्रमित चौगुना बढेका छन् । एक साताअघिदेखि धरानमा दैनिक संक्रमितको सङ्ख्या बढेर गएको छ । सोमबार ८९ र मंगलबार २०६ जनामा सङ्क्रमण पुष्टि भयो । पिसिआर परीक्षणको दायरा घटाइए पनि संक्रमितको दर भने बढेर गएको छ ।

दशैँका लागि किनमेल गर्नेले स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै बजार–पसलमा भीड गरेकाले अझ भयावह अवस्था आउने चिकित्सक बताउँछन् । अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको उनीहरुको भनाइ छ ।

संक्रमण वृद्धिअनुसार प्रदेश सरकार र स्थानीय तहहरुको तयारी भने नदेखिएको चिकित्सकको भनाइ छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले लक्षणसहितका बिरामी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताए । प्रतिष्ठानका करीब तीन सय चिकित्सक, कर्मचारी र नर्स सङ्क्रमित भएका छन् ।

‘अबको अवस्थामा धेरै संक्रमित भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ । प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ तर स्रोतसाधनको अभाव छ’, डा साहले भने । प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० भेन्टिलेटर राखिए पनि ६ वटाले जडान गर्दै काम नदिएर ठेकेदार कम्पनीलाई बनाउन फिर्ता गरिएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेकाले आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकार जुटिरहेको बताए । स्विस दूतावाससँग कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपकरणलगायत सामग्री दिने सहमति गरिएको उनले जानकारी दिए । केही दिनमा १० आइसियु सेट आइपुग्ने उनको भनाइ छ । निजी अस्पताललाई पनि कोरोना संक्रमितका लागि आइसोलेसनसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन जारी गरिएको उहाँको भनाइ छ । उनले बिहीबार प्रतिष्ठान पुगेर कोभिड अस्पताल व्यवस्थित गर्न निर्देशनसमेत दिए ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आठ आइसियु र पाँच भेन्टिलेटर, प्रतिष्ठान धरानमा १५ आइसियु र १० भेन्टिलेटर तथा झापाको मेची अस्पतालमा १० आइसियु र दुई भेन्टिलेटर छन् ।

यस्तै निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा दश आइसियु र तीन भेन्टिलेटर, विराट् मेडिकलमा आठ आइसियु र दश भेन्टिलेटर तथा न्युरोमा आठ आइसियु ू र दुई भेन्टिलेटर छन् । प्रदेशमा कुल ४६ आइसियु र ३२ भेन्टिलेटरको व्यवस्था भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रतिष्ठानमा रहेका १० मध्ये छ भेन्टिलेटर काममा आएका छैनन् ।

प्रदेश नं १ मा ३३ ठाउँमा गरी एक हजार ५३१ आइसोलेशन वार्ड स्थापना गरिएको छ । सोमबार साँझसम्म सात हजार ८१३ जना संस्थागत आइसोलेशनमा र बाँकी संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।

सामाजिक विकास मनत्रालयको तथ्याङ्कअनुसार हालसम्म एक लाख ४७ हजार ९९४ जनमा पिसिआर परीक्षण गर्दा सङ्क्रमितको संख्या १३ हजार ९८८ पुगेको छ । हालसम्म ६ हजार ३९ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : २१ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि