१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री ओलीको सम्बोधन : राष्ट्रिय विपत्तीका बेला अफवाहका तुँवाला बाक्लै लाग्ने गर्छन् (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

दशैंको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व भएको बताउँदै सरकार सो दायित्वमा प्रतिवद्ध रहेको बताएका हुन् ।

महामारीबाट जनताको जीवन रक्षा गर्नु सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै ओलीले दायित्वलाई पूरा गर्न जनताको मतबाट निर्वाचित सरकार कुनै पनि बहानामा पछि नहट्ने दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘ म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।

ओलीले पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहने जनाएका छन् ।

दशैंको मुखमा महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको भन्दै ओलीले भनेका छन्, ‘अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गरेको समेत जिकिर गरेका छन् । सम्बोधनको क्रममा उनले भनेका छन्, ‘गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ ।’

तर उनले देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः फाटेका समेत जिकिर गरेका छन् । उनले भनेका छन्, ‘जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।’

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह समेत गरेका छन् ।

 

 

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ : 

बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसेर भएपनि यस परम्परालाई धान्यौं ।

पारिवारिक मिलनको चाडका रुपमा बर्षमा एकचोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौं ।

यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौं ।

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।

दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।

सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः फाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०।६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।

मैले भन्दै आएको छु, महामारी बिरुद्धको यस लडाईंमा हामी प्रत्येक सिपाही हौं । हामी हरेकको यस लडाईंमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सँगसँगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ ।

कठीन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहुँदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पु¥याउँछ ।

यस महामारी विरुद्धको हाम्रो लडाईं राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोहर्‍याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।

यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ ।

कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु ।

यसपालीको बडा दशैं मनाइरहँदा म कोभिड–१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दुस्ख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट विरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस महामारीको संक्रमणबाट आपूm जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो ।

त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु ।

संक्रमणको संभावित खतरालाई ध्यानमा राखी मैले पनि यसपाली प्रधानमन्त्री निवासमा हुने ‘बडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ ।

अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना १

धन्यवाद ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ४३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर