४ बैशाख २०८१, मंगलबार | April 16, 2024

अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शन



काठमाडौं । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण धेरै मन्दिर बन्द छन् ।

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए ।

यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर आज बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो ।

शनिबार बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका-३० का वडाध्यक्ष समेत रहेका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए ।

मन्दिरमा साङ्लो लगाएर एक/एक जना मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन् । महानगरपालिका-२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको अध्यक्ष कुश ढकालले बताए ।

मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक एक गरी दर्शन गर्न दिइएको छ । स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको कालिकास्थान मन्दिर व्यवस्थापन समितिका सचिव हरि लामाले जानकारी दिए ।

महानगरपालिका-११ स्थित भद्रकाली मन्दिर समेत भक्तजनका लागि बन्द गरिएको वडा अध्यक्ष हीरालाल तण्डुकारले बताए । बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्ने भन्दै भद्रकाली परिसरमा जम्मा भएका छन् । यसैगरी वडा नम्बर२२ मा पर्ने सङ्कटा मन्दिर पनि बन्द गरिएको छ । कोरोनाको संक्रमण फैलने खतरा देखिएकाले नित्य पूजाबाहेक सबै भीडभाड बन्द गरिएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए ।

यसैगरी प्रत्येक हप्ता शनिबार साँढे साती एवं शनिको अढैया भएकाको भीड लाग्ने महाङ्काल मन्दिर पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका-१ स्थित चार भगवतीमध्येको एक नक्साल भगवती मन्दिर पनि मूल ढोकामै ताला लगाइ बन्द गरिएको छ । मन्दिर परिसरमा आउने भक्तजन सडकबाटै दर्शन गरेर हिँड्ने गरेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वडा नम्बर १५ मा पर्ने शोभा भगवती मन्दिरमा भने मूल ढोकासम्म पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको स्वयंसेवक राजाराम कपालीले बताए । मन्दिरमा शुक्रबारभन्दा बिहीबार बढी भक्तजन लाम लागेका थिए ।

यसैगरी विष्णुमती नदी किनारमा रहेको कङ्केश्वरी मन्दिरमा पनि दूरी कायम गरी दर्शन गर्न दिइएको छ । त्यस क्षेत्रका रक्तकाली, श्वेतकाली, बिजेश्वरीलगायत मन्दिरमा दूरी कायम गर्दै सीमित भक्तजनलाई दर्शन गर्न दिइएको १९ नम्बर वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले बताए ।

त्यस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका-८ स्थित प्रसिद्ध बज्रयोगिनी मन्दिर पनि भक्तजनको भीड बढ्न थालेपछि बिहीबारदेखि सूचना प्रकाशन गरी बन्द गरिएको नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष हितमान तामाङले बताए । मन्दिर बन्द भएपछि त्यहाँ पुग्ने भक्तजन बाहिरबाट दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा फूलपातीदेखि महानवमीसम्म बढी भीड लाग्ने गर्दछ । मन्दिर महानवमीसम्मका लागि बन्द गरिएको छ ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका-५ स्थित चामुण्डा मन्दिर भने दूरी कायम गरी खोलिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर-१ मा पर्ने सुन्दरीमाई मन्दिर पनि खुला छ । भक्तजन आफैँ दूरी कायम गर्दै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजन लाममा बसेका छन् ।

दक्षिणकाली नगरपालिका-६ स्थित प्रसिद्ध दक्षिणकाली मन्दिर पनि बन्द गरिएको उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन् । मन्दिर पुग्ने भक्तजन भने बाहिरबाटै दर्शन गरेर फर्कने गरेका छन् ।

खोलिएका मन्दिरमा पनि बली पूजा भने स्थगित गरिएको छ । बन्द गरिएका शक्तिपीठमा पनि पुजारीले नित्य पूजालाई भने निरन्तरता दिएको छ ।

प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण घरमै बसेर वैदिक सनातन हिन्दु धर्मावलम्बीले दुर्गा भवानीको उपासना गरेका छन् । रासस

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ४६ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई