१ चैत्र २०८२, आइतबार | March 15, 2026

कालीगण्डकीमा पुनः ‘स्टिमर सेवा’ शुरु



पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ ।

कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ छ ।

सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम-कालीगण्डकी जल यातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिए । गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताए ।

‘झण्डै चार महिनापछि सेवा शुरु भएको छ’, उनले भने, ‘स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।’

रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका-६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ ।

स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताए ।

स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । उनले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताए । स्टिमर सेवा सञ्चालनपछि चार घन्टाको यात्रा आधा घन्टामा छोटिएको भट्टराईको भनाइ छ ।

कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरी आधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ ।

अहिले दुईतर्फी यात्रा गर्दा रु ४०० निर्धारण गरिएको समितिले जनाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा पुनः शुरु भएपछि सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताए ।

यस वर्ष चाडपर्व पनि ढिला भएकाले ढिलैगरी स्टिमर सञ्चालन भए पनि दशैँ मनाउन सहज भएको स्थानीयले बताएका छन् । दशैँ तिहार मनाउन गाउँमा फर्कन सहज भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज भएको न्यौपानेले जानकारी दिए । स्टिमर सेवा बन्द हुँदा झण्डै चार महिना त्यस क्षेत्रका बासिन्दा आधा घन्टाको बाटो चार घन्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए ।

पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत बढ्न थालेको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए । काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जल यातायातको साधन हो ।

ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हुँदा स्टिमर सेवा त्यस क्षेत्रका लागि वरदान नै सावित भएको थापाले बताए । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ५८ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय