काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ २८ गते हुनलागेको जनप्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने तयारी गरेको छ ।
नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले २८ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको हो ।
बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको निस्कर्ष निकाल्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ । बैठकले जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना समेत बनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । अध्यक्षद्वय प्रचण्ड र नेपालले अहिलेसम्मको आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिएको केन्द्रीय सदस्य विष्णु रिजालले बताएकाछन् ।
आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने उनीरुले बताएको रिजालले बताए ।
अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया