दैनिक आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

खबर कुरा
२ फाल्गुन २०७७, आईतवार

एजेन्सी । दैनिक आठ घण्टाभन्दा कम सुत्ने अधिकांश मानिसमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कस्थित विघम्टन विश्वविद्यालयलको एक अध्ययनले सो तथ्य पत्ता लगाएको हो । सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने व्यक्तिमा बढी मानसिक समस्या र चिन्ता देखिएको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई आउने पाइएको उल्लेख गरिएको छ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै हुने अध्ययनले देखाएको छ । त्यसैगरी सो अध्ययनले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पनि पत्ता लगाएको छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर समेत पर्ने गरेको अध्ययनले देखाएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्यले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टा सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

स्वस्थ रहने केहि टिप्सहरु

प्रशस्त सुत्ने : कति समय सुत्नुपर्छ, त्यो मानिस अनुसार फरक हुन्छ । दैनिक ७-८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।

ब्रेकफास्ट गर्ने बानी बसाल्ने : बिहानको समयमा ब्रेकफास्ट नगर्नाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।

सफा पानी प्रयोग गर्ने : दूषित पानीले गर्दा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस वा अन्य संक्रामक रोगहरू लाग्न सक्छ । त्यसकारणले सफा पानी प्रयोग गर्नु जरुरी छ । साथै दैनिक प्रशस्त पानी पिउनुपर्छ ।

खानेकुरामा ध्यान दिने : ब्रो काउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ ।

स्वस्थ्य मुटुका लागि जौ, मकै, गहुँ, कोदोलगायत फाइबरयुक्त खाद्य सामग्री उपयोगी हुन्छन् । तरकारीमा गेडागुडी, सिमी, केराउ, सोयाबिन आदि र फलफूलमा स्याउ, अम्बा, सुन्तला, मेवा, अंगुर, अनार, भुईंकटहरलगायत पर्छन् ।

त्यस्तै तरकारीमा अन्य कुरिलो, ब्रोकाउली, तामा, बोडी, बन्दाकोभी, मुला, सलगम, लसुन २-३ कोसा दैनिक काँचो वा भुटेर सेवन गर्दा मुटुलाई फाइदा पुर्‍याउँछ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।

शारीरिक व्यायाम : नियमित तवरमा शारीरिक व्यायाम गर्नुपर्छ । कस्तो खालको व्यायाम गर्नु ठीक हो भन्ने कुरा उमेर र स्वास्थ्यमा भर पर्छ । त्यसैले कुनै नयाँ किसिमको व्यायाम सुरु गर्नुभन्दा पहिलो डाक्टरसित परामर्श लिनु राम्रो हो ।

थुप्रै विशेषज्ञको सल्लाह अनुसार केटाकेटी र युवायुवतीले हरेक दिन कम्तीमा ६० मिनेट सामान्यदेखि कडा व्यायाम गर्नुपर्छ । वयस्कहरूले हरेक हप्ता १५० मिनेट सामान्य वा ७५ मिनेट कडा व्यायाम गर्नुपर्छ ।

सथै लिफ्टको सट्टा सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।

सरसफाइमा ध्यान दिने : अमेरिकाको रोग रोकथाम र निवारण केन्द्र अनुसार रोग लाग्नदेखि बच्ने वा रोग फैलिन नदिने सबैभन्दा राम्रो उपाय हात धुनु हो । फोहोर हातले नाक वा आँखा छुँदा रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले हात फोहोर हुन नदिन नियमित रूपमा हात धुनुपर्छ । तर धेरैलाई हात धुने तरीका नै थाहा छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*