काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दामा एमीकस क्यूरी झिकाउने आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनबाट दुई जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।
बुधबार प्रथम सुनुवाइ भएपछि जारी आदेशमा चार सदस्यीय एमीकस क्यूरीको नाम झिकाउन भनिएको छ । ‘अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुईरदुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ’, अदालतको आदेशमा लेखिएको छ ।
इजलासले रिट निवेदकले माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले यो मुद्दामाथि असार ९ गतेबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । त्यसअघि विपक्षीका नाममा लिखित कारण पेश गर्न पनि आदेश दिएको छ ।
यसअघि गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संवैधानिक इजलासले पाँच सदस्यीय एमीकस क्यूरी गठन गरेको थियो । अदालतको सहयोगी भनेर चिनिने एमीकस क्यूरीले इजलासलाई राय सुझाव दिने गर्छन् । कुनै गम्भीर प्रकृतिको मुद्दामा अदालतले इजलासलाई सहयोग गर्न विशेष ज्ञान र अनुभव भएका कानून व्यवासायीहरुलाई एमीकस क्यूरीको रुपमा झिकाउने प्रचलन रहँदै आएको छ ।
प्रतिक्रिया