२२ माघ २०८२, बिहिबार | February 5, 2026

देश कोभिडतिर, नेताहरू भीडतिर



काठमाडौं । क्रियाशील सदस्यताको विवादले सत्तासीन कांग्रेस केन्द्रीय कार्यालय धर्नास्थल बनेको महिनाभन्दा बढी भयो । दिनैपिच्छे कार्यालय परिसरदेखि गेटसम्म धर्नाकारी र कार्यकर्ताको भीडभाड छ ।

जिम्मेवार नेताहरू पनि पार्टी कार्यालय पुग्छन् । धर्नाकारीका मागप्रति ऐक्यबद्धता जनाउँछन् । यो दृश्यले कोरोना महामारीको खिल्ली उडाएझै लाग्छ ।

कांग्रेस मात्र होइन, चरम आन्तरिक विवादमा फसेको एमालेमा त झन् कार्यकर्ता सडकमा उतार्ने होडबाजी नै चलेको छ । प्रधानमन्त्रीबाट हटेलगत्तै केपी शर्मा ओलीलाई असार २९ गते युवा, विद्यार्थीको मोटरसाइकल र गाडीको र्‍यालीले बालुवाटारबाट बाल्कोटसम्म पुर्‍यायो । वरिष्ठ नेता माधवकुमार नेपालले साउन पहिलो साता स्वयंसेवक दस्ता घोषणा कार्यक्रमलाई सम्बोधन गरे ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षले युवा, विद्यार्थीका भेला, र्‍याली र सम्मेलन गरेर जनमत आफ्नो पक्षमा रहेको होडवाजी नै गरे । सत्तासीन माओवादी केन्द्रले पनि आन्तरिक छलफल र बैठक रोकेको छैन ।

जसपाका नेताहरू गाउँ–गाउँमा भेला पारेर पार्टी प्रवेशलगायत कार्यक्रम गरिरहेका छन् । माइतीघर र बालुवाटारतिर नागरिक समाजका नाममा साना–ठूला भेला र प्रदर्शन पनि जारी छन् ।

‘जनताप्रति पार्टीहरू जिम्मेवार नहुने हो भने मुलुकले ठूलो क्षति व्यहोर्नुपर्नेछ,’ पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी भन्छन्, ‘दलहरूका गतिविधिले कोरोना फैलाउन मद्दत गरिरहेका छन् । यस्ता गतिविधि नगर्न पार्टीको शीर्ष नेतृत्वबाटै संयुक्त अपिलको खाँचो छ ।’

कोरोनाको दोस्रो लहर चल्नुअघि दलहरूका ठुल्ठूला सभा, सम्मेलनले संक्रमण फैलाउन मद्दत पुगेको थियो । तत्कालीन प्रधानमन्त्री ओली दोस्रो लहरअघि जसरी पनि सत्ता जोगाउने कसरतमा लागेका थिए । ओलीलाई जसरी पनि सत्ताबाट अलग गर्ने नाममा राजधानीलगायत देशभर ठुल्ठूला सभा, सम्मेलन भए ।

तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त साविक नेकपाको पुष्पकमल दाहाल–नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्रलगायत सडक प्रदर्शनमा उत्रे ।

महामारीबीच भएका सभासम्मेलनलाई पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, दाहाल, नेपाललगायत नेताहरूले सम्बोधन गरे । ओलीले आफ्नो निर्णयमा जनताको सहमति रहेको भन्दै सडक सभालाई सम्बोधन गरे ।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुनुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरिएन । यसरी गरिएका ती सभा, सम्मेलनले कोरोना संक्रमणलाई ह्वात्तै बढाएको स्वास्थ्यकर्मी बताउँछन् ।

‘राजनीतिक दल र सरकारका गतिविधिका कारण कोभिड फैलिएको सत्य हो,’ एमाले युवा नेता योगेश भट्टराई भन्छन्, ‘अहिले पनि विभिन्न नाममा प्रदर्शन र विरोध भइरहेका छन् । समयमै रोक्नेतर्फ दलहरूको ध्यान जान जरुरी छ ।’

कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ । सक्रिय संक्रमितकै संख्या फेरि ३४ हजार ९४२ पुगेको छ । अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेका छन् तर समाजका अग्रणी र नेतृत्वकर्ता राजनीतिक दल र नेताहरू स्वास्थ्य सुरक्षाप्रति फिटिक्कै सचेत देखिँदैनन् । उल्टै कोभिड फैलाउन सहयोगी हुने शक्ति प्रदर्शन र भीडभाडमा उद्धत छन् ।

कोभिडका कारण समग्र स्वाथ्य क्षेत्र नै तहसनहस भई जनता छटपटाइरहेका छन् । समाजका अगुवा राजनीतिक दल र नेताहरू भने महामारीको खिल्ली उडाइरहेका छन् । स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रम र भेला नगर्न निषेधाज्ञा जारी गरे पनि सामान्य परिस्थितिमा झै दलका गतिविधि जारी छन् ।

जसपा डा. बाबुराम भट्टराईले गत असोजमा पर्साका गाउँगाउँ पुगेर मान्छे भेला पारेर आफ्नो पार्टीमा प्रवेश कार्यक्रम गरे । यस्ता कार्यक्रमका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेर नेताहरूले जनतालाई भ्रमित बनाइरहेका छन् ।

राजनीतिक दल र नेताहरू कोभिडप्रति सचेत भए भने जनताले त्यसको सिको गर्छन् । तर मुलुक महामारीमा परेका बेला सचेतना अभियान फैलाउनु त परै जाओस्, उल्टै राजनीतिक अभिष्ट पूरा गर्न धर्ना, जुलुस, सम्मेलन गरेर कोभिड फैलाउन सहयोगी भूमिका निर्वाह गरे, दलहरूले । यस्तो बेला दलहरू गैरजिम्मेवार रूपमा प्रस्तुत हुनु देश र समाजका लागि विडम्बना हो । खोपका लागि सरकारलाई दबाब दिन लाग्नुपर्ने हो ।

कोरोनाबाट बच्न जनतालाई सचेतना अभियान सञ्चालन गर्नुपर्ने हो । कोभिडबाट प्रभावितहरूका लागि स्वाथ्य सामग्रीको जोहो गर्न लाग्नुपर्ने हो तर यसतर्फ दलहरू नजुट्दा जनताले झन् बढी सास्ती व्यहोर्नुपरिरहेको छ ।

कांग्रेस नेता भरतकुमार शाह कोरोनाका विषयमा पार्टी, राजनीतिक कार्यकर्ता र नेताहरू संवेदनशील नभए मुलुकमा थप भयावह अवस्था आउने बताउँछन् । ‘दोस्रो लहर त भोगिसक्यौं, अब तेस्रो लहर आउन नदिनेतर्फ सचेतना फैलाउन राजनीतिक दलले पनि भूमिका खेल्नुपर्छ,’ शाह भन्छन् ।

संसद र संसदीय समितिहरूले कोभिड रोकथाम र नियन्त्रणका लागि दिएका निर्देशनहरूको पालना गराउन सरकार पनि कटिबद्ध हुनुपर्नेमा शाहको जोड छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ०६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद