२९ भदौ २०८३, सोमबार | September 14, 2026

सोलार फार्म प्रालिले ५ मेघावाट विद्युतको उत्पादन सुरु गर्यो



तनहुँ । सोलार फार्म प्रालिले ५ मेघावाट विद्युतको उत्पादन सुरु गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिले विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो ।

सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी छन् । शुभारम्भ कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं पूर्व शिक्षामन्त्री दीनाानथ शर्माको समेत उपस्थित रहेको थियो । यो सँगै नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । यस्तै सोलार फार्म निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने कम्पनी बनेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताइन् । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालको भनाई थियो । मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिइन ।

विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताइन् । “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उनले भनिन, “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”

जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिइन् ।

सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए । “कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ”, गुरुङले भने, “सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।”

कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । रु ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।

प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिए । सोलार परियोजना जलविद्युत्को तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताए ।

आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता ९पिपिए० हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो ।

सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७.३० मा खरिद गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ८ : ५६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ