२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय



जलेश्वर । सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एउटा विद्यालय ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ ।

अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका–९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासीनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको हो ।

सो विद्यालय महोत्तरीको केन्द्रविन्दु मानिएको निर्वाचन क्षेत्र नं। ३ मा अवस्थित छ । नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् । आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताए ।

२०१० सालमा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्रअ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे ।

त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् ।

त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्रअ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन् । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्रअ राउतले बताए ।

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय वयोवृद्ध बुधवा सदाले बताए ।

भौतिक पूर्वाधार र शिक्षकको अभावमा ससाना बालबालिकाको उज्ज्वलका लागि तल्लिन प्रअ राउतले विद्यालयमा तत्काल छ वटा कक्षाकोठा, एउटा कार्यालय र एउटा खाजा बनाउने कोठाका साथै बालमैत्री शौचालय र खानेपानीको आवश्यकता रहेको औंल्याए । उनले आफूले विद्यालयमा तत्काल अतिआवश्यक पूर्वाधार र कक्षानुसारको जनशक्ति उपलब्ध गराइदिन जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित शिक्षा समन्वय इकाइ र नगरपालिकामा समेतमा पटक पटक लिखित र मौखिक आग्रह अनुरोध गरे पनि कतैबाट कुनै सहयोग प्राप्त नभएको सुनाए ।

उक्त विद्यालयमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले दुई कोठे भवन बनाउन लगाएर अधुरै छाडेर भागेको अवस्था छ । पहिलो पटक त्यस क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित रानीकुमारी तिवारीको संसदीय कोषबाट सोही विद्यालयमा निर्माण गर्न लागिएको सो दुई कोठे भवन पनि अधुरै छ ।

आफ्ना बालबालिकालाई ठूलठूला र महँगा निजी विद्यालयमा पठाउने जनप्रतिनिधिले गरिब, विपन्न र दलितका छोराछोरी पढ्ने यस विद्यालयमा लगानी नगरेर बढीभन्दा बढी कमिशनको पाउने लोभमा मठ, मन्दिर, मस्जिद, सामुदायिक भवन र पोखरीको सौन्दर्यजस्ता भोट आउने क्षेत्र तथा कार्यकर्ता पाल्ने योजनामा मात्रै लगानी गर्ने गरेकाले विद्यालयको यो अवस्था भएको स्थानीय अभिभावको आरोप छ ।

विद्यालयलको दुरावस्थाबारे नगरपालिकाका उपप्रमुख रमिता प्रधानले आफूहरुलाई पहिले सो विद्यालयबारे केही थाहा नभएको र अहिले योजनासमेत बाँडिसकेको हुँदा तत्काल केही गर्न नसक्ने बताए । उनले यस्ता कार्यक्रमका लागि प्रदेश र संघको आर्थिक सहयोगको आवश्यकता भएको उल्लेख गरे । रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : ३३ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि