४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको स्थानीय तह हाँक्न नेताहरुको लविङ तिब्र, यी हुन आकांक्षीहरू



बुटवल । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै रुपन्देहीका स्थानीय तहमा आगामी नतिजाको जोडघटाउ सुरु हुन थालेको छ । निर्वाचनमा उम्मेदवारी हुन चाहनेले आकांक्षा व्यक्त गर्न थालेका छन् ।

रुपन्देहीमा १६ वटा स्थानीय तह छन् । तीमध्ये २०७४ को स्थानीय निर्वाचनमा एमालेले झन्डै दुई तिहाइ स्थानमा जित हासिल गरेको थियो । रुपन्देहीमा रहेका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये अधिकांशमा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेले यसअघिको नतिजालाई काम राख्ने चुनौती थपिएको छ भने आकांक्षीहरूले पार्टी नेताहरूसँग आन्तरिक लबिङ सुरु गरिसकेका छन् ।

रुपन्देहीमा रहेको एकमात्र उपमहानगरपालिका बुटवल उपमहानगरपालिकामा गत निर्वाचनमा प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यसबेला कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । यसपटक एमाले आफ्नो त्यो बर्चश्वलाई गुम्न नदिने रणनीतिमा छ भने कांग्रेसले अघिल्लो पराजयको बदला लिने दाउमा देखिन्छ ।

एमालेबाट हालका नगर प्रमुख शिवराज सुवेदी फेरि दोहोरिन चाहेका छन् भने युवा नेता गोपाल राना र एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईले मेयरको टिकटका लागि पहल गरिरहेका छन् । त्यस्तै एमाले जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसी पनि नगर प्रमुखका आकांक्षी हुन् भने हालकी उपमेयर गुमादेवी आचार्य र अर्का नेता सूर्यबहादुर भट्टराईले पनि मेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट यसअघि नगर प्रमुखमा थोरै मतले पराजित खेलराज पाण्डे, सुरेन्द्र श्रेष्ठ, हरिबहादुर आचार्य, रामेश्वर श्रेष्ठ र चुन्नुप्रसाद पौडेल नगर प्रमुखका आकांक्षी देखिएका छन् । पाण्डे यसअघि २३ सय मतअन्तरले पराजय भए पनि निरन्तर पार्टी काम र मतदातासँग सक्रिय रहेकाले उनको विकल्प नभएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।

अघिल्लो निर्वाचनमा रुपन्देहीका १६ वटा स्थानीय तहमा सात सय ३९ जनाको उम्मेदवारी परेको थियो भने यसपटक त्यो संख्या बढेर जाने देखिन्छ । रुपन्देहीका बाँकी चारवटा नगरपालिकामध्ये तीनवटामा प्रमुख र एउटा नगरमा उपप्रमुखसहित दुई तिहाइ सदस्य एमालेले जितेको थियो ।

रुपन्देहीमा सबैभन्दा बढी मतदाता भएको तिलोत्तमा नगरपालिकामा हालका नगर प्रमुख बासुदेव घिमिरे प्रतिनिधिसभाको टिकट पाउने दाउमा लागेका छन् भने यसअघि नगर कमिटी अध्यक्षसमेत रहेका एमाले रुपन्देहीका पुर्व प्रचार विभाग प्रमुख मोहन चापागाई, एमाले रुपन्देहीका सहसचिव यज्ञ गैरे र उपप्रमुख जगेश्वरदेवी चौधरी नगर प्रमुखका आकांक्षीका रूपमा देखिएका छन् । अघिल्लो निर्वाचनमा नगर प्रमुखका लागि एमालेले सुरुमा चापागाईको बारेमा निर्णय गरेको थियो, तर उक्त निर्णय फिर्ता लिँदै अन्तिममा घिमिरेले टिकट पाएका थिए ।

नेपाली कांग्रेसबाट यसअघि पराजित नेता रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीको सभापती भइसकेकाले उम्मेदवार नबन्दा उनको सहयोगमा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी ९माधव० र रोमणी पाठक नगर प्रमुखका दाबेदार देखिएका छन् ।

सिद्धार्थनगर नगरपालिकामा हरि अधिकारीलाई नगर प्रमुख र उमा काफ्लेलाई उपप्रमुखमा जिताएको एमालेले यसपटक पनि नेतृत्व हात पार्न उम्मेदवार फेर्नुपर्ने दबाबमा छ । उपप्रमुख उमा काफ्ले एकीकृत समाजवादीतिर लागेको र प्रमुख अधिकारीले नतिजा दिन नसकेपछि उनको विकल्प दिनुपर्ने दबाब एमालेलाई छ । सिद्धार्थनगरका लागि एमाले नेताहरू भरत पोखरेल, हितराज पन्थी, राजेन्द्र पन्थी, नारायणप्रसाद भण्डारी नगर प्रमुखका दाबेदारका रूपमा देखिएका छन् ।

यसपटक सत्तागठबन्धन कायम राखेरै भए पनि सिद्धार्थनगर खोस्ने दाउमा रहेको नेपाली कांग्रेसबाट यसअघि पराजित उम्मेदवार मातृका यादव, सुरेन्द्रजंग थापा र दिपकक्षेत्री न्यौपाने नगर प्रमुखका दाबेदार देखिएका छन् ।

सिद्धार्थ नगरमा निर्णायक शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग जसले गठबन्धन गर्न सक्छ उसैले जित हातपार्ने भएकाले पनि राजनीतिक दलहरू राप्रपाका नेता सागरप्रताप राणा र दिपक बोहोरालाई मनाएर गठबन्धन गर्ने अवस्था रहन सक्ने देखिन्छ ।

एमालेले नगर प्रमुख उपप्रमुखसहित बहुसंख्यक वडा जितेको सैनामैना नगरपालिकामा एमालेको तर्फबाट बहालवाला नगरप्रमुख चित्रबहादुर कार्कीसँगै मिनप्रसाद पौडेल, खुसीराम चौधरी, नरबहादुर थापा नगर प्रमुखका आकांक्षी देखिएका छन् भने नेपाली कांग्रेसबाट यसअघि पराजित फणिन्द्र शर्मा, कृष्ण पोखरेल र गोविन्द लम्सालले आकांक्षा देखाएका छन् ।

नगर प्रमुख गुमाएर उपप्रमुख सहित दुई तिहाइ वडा र वडा सदस्य जितेको एमालेले यसपटक देवदह नगरपालिकाको नेतृत्व खोस्ने रणनीतिमा छ ।नगरपालिकामा एमालेका तर्फबाट नगर प्रमुखका लागि ऋषिराम सापकोटा, ध्रुव खरेल, उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, यम राना, प्रकाश अर्याल आकांक्षी छन् भने नेपाली काँग्रेसबाट नगर प्रमुख हीरा केसीसँगै कांग्रेस नगर सभापति गुणाखर भुर्तेल, तारा पराजुली, भविन्द्रप्रसाद पाण्डे र वासुदेव रिमाल आकांक्षी छन् ।

विगतमा नेपाली कांग्रेसले देवदह नगरपालिका र बुटवल उपमहानगरमा माओवादी केन्द्रसँग र तिलोत्तमा नगरपालिकामा जनमुक्ति पार्टीसँग गठबन्धन गरे पनि देवदहको नगर प्रमुखबाहेक अन्यत्र नतिजा हात पार्न सकेको थिएन ।

कांग्रेससँग गठबन्धन गरेर पाएको उपप्रमुखको उम्मेदवारी पनि हात पार्न नसकेपछि बिच्केको माओवादीले यसपटक केन्द्रीय नेतृत्वले नै मोर्चा बनाएमा रुपन्देहीको कम्तिमा एउटा नगरपालिका भए पनि आफ्नो नेतृत्व कायम गर्न पाइन्छ कि भन्ने आशामा देखिन्छ ।

भर्खरै एमालेबाट बाहिरिएर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा संगठन विस्तारका लागि एमाले कार्यकर्ता तान्ने ध्यानमा भएका कारण अझै को को आकांक्षी भन्ने बहस हुनै पाएको छैन । एकीकृत समाजवादीका नेताहरू एमाले र नेकपा माओवादीका स्थानीयस्तरमा पहिचान बनाएका नेताहरूलाई नगरपालिकामा उम्मेदवार बनाउला भन्दै आफ्नो पक्षमा लाग्न फकाइरहेका छन् ।

मधेसी जनाधिकार फोरममा रहे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर मनमोहन चौधरीले जितेको लुम्विनी सांस्कृतिक नगरपालिकामा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । चौधरी अहिले जनता समाजवादीमा छन् । उनी पनि नगर प्रमुखका आकांक्षी हुन् ।

नेपाली कांग्रेसबाट मोहम्मद सइद खाँ र सजरुद्धीन खान आकांक्षी छन् भने एमालेबाट अक्रम खाँ, गोविन्द ज्ञवाली र सिके गुप्ताले उम्मेदवार हुन आकांक्षा देखाएका छन् । त्यस क्षेत्रमा माओवादीभित्रका प्रभावशाली नेताहरू हजरत बेलाल राजु र यसअघि नगर प्रमुखको उम्मेदवार बनेका हरिबहादुर यादव एमालेमै बसेपछि माओवादी केन्द्रबाट अल्ताफ आलमले मौका पाउने देखिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको