१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना प्रभाव : ५५ दिनयता बागलुङ सुरक्षित



बागलुङ । गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो ।

बेल्जियमबाट युवतीसँगै फर्किएकी सोही नगरपालिका–३ की ६५ वर्षीया महिला जिल्लाको दोस्रो सङ्क्रमित हुनुहुन्छ । उनीहरु चैत ४ मा कतार एयरको विमानबाट दोहा हुँदै काठमाडौँ आएका थिए । युवती नेपालको पाँचौ र महिला छैटौँ सङ्क्रमित हुनुहुन्छ । कोरोनालाई जितेपछि दुवै सामान्य जीवनमा फर्किसकेका छन् । धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्केको पनि महिना दिन बितिसक्यो ।

चैत १० मा काठमाडौँकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा जिल्लाका दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँकी युवती पनि फ्रान्सबाट दोहा हुँदै कतार एयरको विमानमार्फत नेपाल आउनुभएको थियो । नेपालमा कोरोना प्रवेशको शुरुआती चरणमै बागलुङका दुई व्यक्तिमा सङ्क्रमण फेला परेपछि जनसाधारणमा एकाएक त्रास छाएको थियो । घर आएको ११ दिनपछि युवतीमा र १६ दिनपछि महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सो अवधिमा सङ्क्रमितले परिवारका सदस्य, बसोबास क्षेत्र र भौतिक सम्पर्कमा आएका व्यक्तिमा भाइरस सारेको हुनसक्ने भयले धेरैलाई सताएको थियो । सौभाग्य नै मान्नुपर्छ दुवै जनाबाट अर्को व्यक्ति सङ्क्रमित भएको पाइएन । तत्कालै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी कोरोना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आयो । घरकै सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना नदेखिएपछि जिल्लावासीमा उत्पन्न डरको ताप घट्यो । स्थानीय अधिकारी, जनस्वास्थ्यकर्मी र चिकित्सक समुदायमा सङ्क्रमण नसरेको निष्कर्षमा पुगे ।

झण्डै दुई महिना बित्न लाग्दासम्म नयाँ सङ्क्रमण नभेटिनुलाई स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले समुदायमा भाइरस नफैलिएको रुपमा अथ्र्याउनुभयो । “पहिले भेटिएका सङ्क्रमितबाट कुनै जोखिम आइलागेन”, उहाँले भन्नुभयो, “भारतलगायत बाहिरी ठाउँबाट जिल्ला भित्रने क्रम शुरु भएकाले अब जोखिम थपिँदैछ ।” उहाँले नेपाल कोरोनामुक्त नभएसम्म जिल्लामा सङ्क्रमणको जोखिम सधैँ रहिरहने बताउनुभयो । प्रमुख गुरौले पछिल्ला दिनमा सयौँको सङ्ख्यामा मानिसहरु भारतबाट जिल्ला फर्केकाले सङ्क्रमण फेरि देखिन सक्ने सम्भावना औँल्याउनुभयो ।

“स्थानीय समुदायमा कोरोना नभए पनि बाहिरबाट आउनेबाट सङ्क्रमणको खतरा छ”, उहाँले भन्नुभयो, “क्वारेन्टिन व्यवस्थापन र बढीभन्दा बढीमा कोरोना जाँच गर्नुबाहेक हामीसँग अरु विकल्प छैन ।” स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आएका करिब ३०० अहिले क्वोन्टिनमा छन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले पनि भारतलगायत सङ्क्रमित क्षेत्रबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेको उल्लेख गर्नुभयो । उहाँले लामो समयसम्म नयाँ सङ्क्रमण नभेटिनुलाई सुखद् मान्नुपर्ने बताउनुभयो ।

दुई सङ्क्रमितलाई निको बनाएको अस्पतालले शङ्कास्पद बिरामीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने गरेको छ । “ज्वरोका बिरामीलाई विशेष निगरानी गर्छौँ, शङ्कास्पद देखिएमा कोरोना जाँच हुन्छ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । अहिले अस्पतालको आइसोलेसनकक्षमा कोही पनि बिरामी छैनन् । नयाँ सङ्क्रमित फेला नपरे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको प्रमुख चिकित्सक पोखरेलको भनाइ छ । “सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भारतबाट आउने नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा राख्नु नै अहिलेको मुख्य जिम्वेवारी रहेको बताउनुभयो । “उहाँहरुलाई क्वारेन्टिनमा राख्ने र पिसीआर विधिबाट कारोना जाँचका लागि हाम्रो पहल अघि बढेको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ सैँजूका अनुसार क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । भारतलगायतका ठाउँबाट एकैसाथ ठूलो सङ्ख्यामा सर्वसाधारण भित्रिँदा क्वारेन्टिनमा श्यया थप्नु र गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।

जिल्ला कमाण्ड पोष्टले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबै पक्षसँग समन्वय र सहकार्यमा काम गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, उच्च निगरानी र सावधानी, बन्दाबन्दीको पालनाजस्ता कारणले कोरोना नियन्त्रणमा सघाएको कमाण्ड पोष्टको बुझाइ छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार २७१ जनामा दु्रत जाँच र ३०८ जनामा पिसीआर विधिबाट कोरोना जाँच गरिएको छ । जसमध्ये १८ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार पनि पत्रकारलगायत थप शङ्कास्पद व्यक्तिमा कोरोना जाँचका लागि स्वाब लिइएको छ । जिल्लामा सङ्कलित स्वाबको नमूना परीक्षण पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ११ : ३४ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति