१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सडक सञ्जालले जोडिदै छन् मुस्ताङ र डोल्पा



ठिनी । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो ।

सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६/७७ मा ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ ।

साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।

समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।

“अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुन्छ”, उनले भने, “कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।”

वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने बताए ।

सडक कार्यालय बागलुङका सवइञ्जिनीयर सगुनकुमार कार्कीका अनुसार विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ । एउटा खण्डका लागि पाँच करोड, दुई/दुई करोडका दुई खण्ड र  एक/एक करोडका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो ।

यही आर्थिक वर्ष भित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

सांसद तुलाचनले भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको १० करोड रकममध्ये चार करोड रकमसमेत यही सडकका लागि छुट्याएको जानकारी जानकारी दिए । -रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ३ : ५२ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।