१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना विशेष अस्पतालका भेन्टिलेटर र आईसीयू गम्भिर प्रकृतिका संक्रमितले भरिए, प्रदेश सरकारसँग तथ्यांक छैन



बुटवल । प्रदेश नम्बर ५ मा कोरोनाको ग्राफ बढेको मात्र छैन, लक्षण सहितको बिरामी देखिनुका साथै सिकिस्त भएका बिरामीहरु संख्या पनि बढेर गएको छ । कोरोनाका अस्पतालहरुमा संक्रमितहरु भरिए पनि स्थानीय तहका स्वास्थ्यकर्मीहरु र जन प्रतिनिधिहरु थप सेवा विस्तारमा भने उदासिन देखिएका छन् ।

प्रदेशको राजधानी बुटवलको कोरोना विशेष अस्पतालमा सबै भेन्टिलेटर र आईसियु भरिएका छन् भने जनरल वार्डका वेडहरु पनि झण्डै भरिने अवस्थामा पुगेका छन् । बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालका सबै भेन्टिलेटर र आईसीयू भरिएका लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डाक्टर राजेन्द्र खनालले बताएका छन् ।

कोरोना विशेष अस्पतालमा ३७ जनाको उपचार चलिरहेको उनले बताए । १६ वटा आईसियू रहेको बिशेष अस्पतालमा १६ वटै आईसियू प्याक छ भने अन्य २१ जना लक्षण सहितको संक्रमितको उपचार चलिरहेको छ ।

१ महिना पहिलेसम्म लक्षण बिनाका संक्रमित देखिने गरेकोमा पछिल्लो समय लक्षण सहितका संक्रमित देखिने क्रम पनि बढेको छ । बुटवलमा कतिपय होम आइसोलेसनमा बसेका संक्रमितहरुमा पनि लक्षण देखिएको छ । उनीहरु आफ्नो निजी चिकित्सकहरुसँग सल्लाह लिएर उपचार गराईरहेका छन् ।

स्थानीय तहलाई लक्षण देखिएको सुचना दिएमा सरकारी आइसोलेसनमा जानुपर्ने त्रासले पनि यसरी होम आइसोलेसनमा बसेका संक्रमितले लक्षण लुकाएको पाईएको छ । बुटवल ११ होम आइसोलेसनमा बसेका एकजना संक्रमितले ज्वरो आएपछि आफुले चिनेको डाक्टरसँग सल्लाह लिएर औषधी खाएको बताए ।

बुटवलमा होम आइसोलेट भएका संक्रमितलाई सरकारी चिकित्सकबाट नियमित निगरानी गर्नुपर्ने भएपनि उनीहरुको निगरानी गर्न कोही नआएको संक्रमितहरुले बताएका छन् । रुपन्देहीमा लक्षण सहितको संक्रमितलाई सरकारी निगरानी नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान मेसु डाक्टर कृष्ण खनाल रातारात उपचारका लागि काठमाडौं पुगेका छन् ।

संक्रमित भएर होम आइसोलेसनमा बसेका उलाई शुक्रबार राती छाती दुख्यो । उनका सहयोगिले नजिकका सबै चिकित्सक, प्राय सबै एम्बुलेन्स र सरोकारवाला निकायलाई फोन गरे तर उनलाई लिन एम्बुलेन्स आएन । संक्रमित डाक्टर खनाल हिंडेर सिटी स्क्यान गर्न पुगे र संक्रमण बढी देखिएपछि कपिलवस्तुबाट एम्बुलेन्स बोलाएर काठमाडौं गए ।

आफ्नै पूर्व मेसुलाई समयमा उपचार दिन नसक्दा दुःख लागेको लुम्बिनी प्रादेशिक अस्पताल प्रमुख खनालले बताए । कोरोना संक्रमित भनेको थाहा पाए पछि एम्बुलेन्स चालकहरुले कसैले टायर पन्चर, कसैले ईन्जिनमा समस्या त कसैले मोबाईल नै उठाउने नगरेको पुर्व मेसु कृष्ण खनालका लागि एम्बुलेन्स खोज्न सहयोग गरेका बुटवल अस्पतालका संचालक मुक्ति पौडेलले बताए ।

केन्द्रीय क्राईसिस मेनेजमेण्ट सेण्टर [सीसीएमसी]ले लक्षण सहितको संक्रमितलाई होम आईसोलेसनमा बस्ने अनुमति नदिएपनि रुपन्देहीमा भने त्यस्ता संक्रमित धेरै देखिएको छ । उनीहरुलाई स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल कसैले पनि निगरानी गर्न आएको पाईएको छैन ।

बुटवल उपमहानगरसँग ८० जना होम आईसोलेसनमा बसेको तथ्यांक भएपनि कतिजनामा लक्षण छ भन्ने कुराको जानकारी छैन । गोप्य रुपमा होटलमा बसेका संक्रमितहरुको त स्थानीय तहसँग तथ्यांक समेत छैन । होम आइसोलेसनमा बसेका २ जनालाई ज्वरो आएको संक्रमित आफैले खबर गरेपछि टोलि पठाईएको र अन्यको लक्षणको खबर नआएको बुटवल उपमहानगरकी स्वास्थ्य शाखाकी निमित्त प्रमुख गिता पाण्डेले बताईन् ।

प्रदेश ५ को अर्को संक्रमित बढी भएको जिल्ला बाँकेमा ३४ जनामा लक्षण देखिएको छ भने ५ जनालाई अक्सिजनको सहयता दिईएको छ । बाँकेमा भेन्टिलेटर आईसियूमा राख्न आवश्यक संक्रमित नआएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा नेपाल सरकारले कारोना उपचारको स्विकृत दिएको नेपालगन्ज मेडिकल कलेज सहित ५३ आईसीयू र २१ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेपनि हाल सम्म गम्भिर प्रकृतिको संक्रमित नआएको श्रेष्ठले बताए ।

बाँकेमा स्वास्थ्य कार्यालयले ५३ आईसियू र २१ भेन्टिलेटर तयार अवस्थामा रहेको बताईरहँदा प्रदेश ५ स्वास्थ्य निर्देशनालयको तथ्याँकमा भने प्रदेश ५ मा ३२ वटा आईसियू भेन्टिलेटर मात्र सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

दाङमा भने लक्षण सहितको संक्रमित भेटिएका छैनन् । स्वास्थ्य कार्यालय दाङका अनुसार लक्षण नदेखिएका २२ जना स्थानीय आइसोलेसन अस्पतालमा उपचार गराईरहेका छन् ।

दाङको आइसोलेसन अस्पतालमा ५ वटा भेन्टिलेटर रहे पनि दक्ष जनशक्ति नभएका कारण चलाउन सक्ने अवस्था नभएको डाक्टर सर्वेश शर्माले बताए ।

रुपन्देहीमा स्थानीय तह र सरकारी निकाय बिच समन्वय नहुँदा जिल्लाको सहि तथ्यांक समेत आउन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा। राजेन्द्र खनालले सिकिस्त संक्रमितले बेड भरियो भन्दै फेसबुकमा स्टाटस राखिरहँदा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोनाफोकल पर्शन केदारनाथ साहले १२ जना मात्र लक्षण सहितको संक्रमित रहेको बताएका छन् ।

लक्षण सहितको संक्रमित होम आइसोलेसनमा बस्नु, उनको उपचारमा स्थानीय तह बेखबर रहनु र अस्पतालकै पुर्व मेसु एम्बुलेन्स नपाएर पैदल अस्पताल पुग्नु पर्ने अवस्था हुनुले कोरोना व्यवस्थापनमा रहेको कमजोरी उजागर गरेको छ ।

महामारीको स्वरुप ग्रहण गरिसकेको कोरोनालाई नियन्त्रण गर्न भन्दै भएका खर्चहरु परिणाममुखी हुन नसकेको गुनासो समेत आउन थालिसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।