७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो’



चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो ।

राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ ।

सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक/दुईवटा यस्ता बिरामी आउने गरेको बताउँछन् । बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उनको भनाइ छ ।

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउँछन् । उनी भन्छन्, “बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन् । केही गर्न नपाउँदै मृत्यु हुन्छ ।” कतिपयको बाटोमै र कतिपयको उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उनको भनाइ छ । उनी भन्छन् “श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ ।”

अस्पतालमा सघन उपचार कक्षको श्यया अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ । समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो । उनका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका स्थानीयवासी अस्पताल जान नै डराउने गरेका छन् । सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन् । कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ । कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउँछन् । उनी भन्छन्, “सिटामोलले एक/दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ ।” मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उनको भनाइ छ ।

रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नु पर्ने उनको सुझाव छ । उनी भन्छन्, “ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ ।”

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउँछन् । समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, “सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन् । जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।” सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उनको सुझाव छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउँछन् । रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उनको सुझाव छ । उनी भन्छन्, “कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ ।” अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उनको आग्रह छ ।

कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन् । अस्पतालमा आई पुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ । यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन् । यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

उनीहरु तीनै जनाको कोरोना पोजिटिभ देखिएको थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गरेका छन् । सामान्य समस्यामा अस्पताल आउन नपरे पनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उनको भनाइ छ ।

जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ । केही दिनअघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरुलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको थियो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ४८ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२