१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमणको जोखिम उच्च : सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।

हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमानाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेहरूलाई चेकजाँचपछि प्रवेश दिने गरिएको उनले बताए ।

सीमानाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । तर, हेल्प डेस्कमा जनशक्ति तथा स्रोतसाधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपाली परीक्षणबिना नै निर्बाध रूपमा नाकाबाट भित्रिने गरेका छन् । नाकाबाट भित्रिनेमध्ये केहीको मात्र परीक्षण गर्ने गरिएको छ ।

धनगढीबाट प्राप्त विवरणअनुसार ३ चैतयता मंगलबारसम्म भारतबाट आएका करिब २० हजार नेपालीमध्ये करिब ४ हजारको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यसमध्ये ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।

सरकारले कोरोना संक्रमणको गति सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सुरुमा १४ वटा नाका खुला गरेको थियो । पछि थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको थियो । त्यसबाहेक दार्चुलाका झुलुंगे पुलबाट आवतवाजत गर्ने गरिएको केही नाकासमेत खुला अवस्थामा छन् ।

१० चैत २०७६ देखि सबै सीमानाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउन खुला गरिएको थियो । भारतर्फ संक्रमण बढ्दै गर्दा र सबै सीमानाका खुला हुँदा तथा आवतजावत गर्नेको तथ्यांक नराखिँदा फेरि पनि संक्रमणको जोखिम बढ्ने देखिएको हो ।

नेपाल प्रहरीले चैत महिनाको विवरण दिँदै प्रदेश १ मा १६ हजार ९ सय ६२ जना प्रवेश गरेको, लुम्बिनी प्रदेशमा ३० हजार ९ सय ९० जना तथा सुदूरपश्चिम प्रदेशमा ६४ हजार ५ सय २१ जना व्यक्ति विभिन्न नाका हुँदै नेपाल आएको जनाएको छ । तर, प्रदेश २ को विवरण भने प्रहरीले समेत पाएको छैन । प्रहरीले उपलब्ध गराएको विवरण अपुरो छ भने कुन नाकाबाट कति प्रवेश गरे भन्ने जानकारी प्रहरीले समेत यकिन गर्न सकेको छैन ।

हाल दैनिक रूपमा भारतमा १ लाख ५० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिँदै आएको तथ्यांक देखाउँछ । यस्तै नेपालमा सोमबार मात्रै ५ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । यो संख्या केही अघि भने दैनिक १ सयभन्दा तल थियो ।

खुला सीमाका कारण नेपाल र भारतबीच आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सीमानाकामा सावधानी अपनाउन निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको हो ।

‘सीमानाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न भनिएको छ, अभिलेख राख्ने काम प्रहरीले गर्छ, स्वास्थ्य जाँचको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्छ,’ गृह प्रवक्ता बुढाले भने ।

ती विभिन्न नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्ने व्यवस्था गर्न पनि भनिएको उनले जानकारी दिए । यस्तै पछिल्लोपटक को आए को गए भन्ने विवरण पनि राख्न भनिएको उनले जनाएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ५४ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित