काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता द्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले भेटवार्ता गरेर बाहिरिए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य वार्ता गरेका छन् । उनीहरुबीच मंगलबार अबेर रातिसम्म वार्ता भएको खुलासा भएको छ ।
महाराजगञ्जस्थित व्यापारी प्रमोद राणाको घरमा मंगलबार राति भएको वार्तामा देउवा र चचण्डका बीच नयाँ सरकार गठन तथा सत्ता समिकरणको जोडघटाउका सम्बन्धमा छलफल भएको बुझिएको छ ।
नयाँ सरकार गठनको सन्दर्भमा डा. भट्टराई र यादव देउवासँग भेट गरेर बाहिरिए लगत्तै देउवा र प्रचण्ड बीच भएको भेटलाई अर्थपूर्णरुपमा लिईएको छ ।
मगलबार साँझ जनता समाजवादी पार्टीका अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए ।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र त्यसका लागि दलहरुसँग छलफल चलाउने निर्णय गरिसकेको छ । यस अघि नै माओवादी सरकारमा कांग्रेस नेतृत्वका लागि सहमत छ । तर, सत्ता समीकरण निर्माणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले यससम्बन्धमा निर्णय लिन नसक्दा नयाँ सरकारले आकार लिन सकेको छैन ।
जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पछिल्लो समय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने संकेत गरिरहेको छन् भने यादव तथा भट्टराई पक्ष भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया