नेतालाई ‘बा’ बनाएर मदन भण्डारीको बाटो हिँडिदैन कमरेड !

शरण कर्माचार्य
३ जेष्ठ २०७८, सोमबार
                 

यसैसाता फेसबुकमा पोष्ट गरेको एउटा स्टाटसका कारण मैले निकै आलोचना खेपें । त्यस स्टाटसका विषयमा एमालेको यौटा वृत्तका सामान्य कार्यकर्तादेखि ठुला लालबुझक्कड हुँ भन्ने सम्मले कमेण्ट गरे । अधिकांस कमेण्ट आलोचनायुक्त, गालीगलौजपूर्ण र कडा खालका नै थिए । मैले एमाले कार्यकर्ताहरुलाई मात्र एमाले बन्न आग्रह गरेको थिएँ, तर उनीहरु एमाले बन्न तयार थिएनन् । उनीहरुलाई एमाले बन्नु भन्दा ‘बा’ का छोरो बन्नमा गर्व महसुस भैरहेको थियो । आफुलाई एमाले भन्न कोही तयार थिएनन् प्रायः सबै सबै छोरा बन्न तयार थिए । एमाले बन्न गरेको आग्रह सबैलाई अभिसाप जस्तै बनेको थियो ।

त्यो स्टाटसमा आएको कमेण्टपछि एमालेभित्र अझै केहि कम्युनिष्ट कार्यकर्ता बाँकी छन् की, अझै नेताहरु सिद्धान्तबाट स्खलित भएपनि कार्यकर्ताहरुमा जुझारुपन बाँकी छ की वा कार्यकर्ताहरुमा आफु कम्युनिष्ट पाटीको कार्यकर्ता भएको भ्रम बाँकी छ की भन्ने मेरो भ्रम भने मेटिएको छ । एमालेमा नेताहरु जस्तै कार्यकर्ताहरु पनि कम्युनिष्ट आदर्श, सिद्धान्त र व्यवहारबाट स्खलित भैसकेका रहेछन् भन्ने कुरा ती कमेण्टहरुले पुष्टि गर्दै थियो ।

कस्तो हुन्छ कम्युनिष्ट पार्टी ?

एउटा कम्युनिष्ट पार्टी जो आफैमा द्वन्दात्मक भौतिकवादी सोचबाट, विचारबाट निर्देशित हुन्छ । जव मानिसमा वर्गविहीन समाज, वन्धनमुक्त समाज, शोषण दमन र उत्पीडन मुक्त समाज, समानतामा आधारित समाजको नक्सा दिमाखमा कोरिन्छ तबमात्र उ कम्युनिष्ट कार्यकर्ता हुन सक्छ । एउटा कम्युनिष्ट पार्टीभित्र मालिक, प्रभु, ख्वामित, पालनकर्ता, प्रभु, ईश्वर केहि हुँदैन । पार्टीभित्र सबै कमरेड हुन्छन् । सबैको समान हक हुन्छ, सबैको बराबर अधिकार हुन्छ । विधि हुन्छ विधान हुन्छ, सबैले त्यसलाई मान्ने गर्दछन् । विधिअनुसार नेतृत्वको चयन हुन्छ । जनवादी केन्द्रियताका आधारमा संगठन संचालन हुन्छन् । कार्यकर्ताहरु पद्दतीभित्र बसेर नेतृत्वको आलोचना गर्न स्वतन्त्र हुन्छन् र नेतृत्व पनि जनवादको विधिलाई स्वीकार गर्न तयार हुन्छ । पार्टीका हरेक बैठकमा आलोचना र आत्मा आलोचनाको एजेण्डा प्रमुख एजेण्डा हुन्छ । कमिटीभित्रै आलोचना गर्ने र आत्माआलोचना गर्ने र बैठक सकिएपछि एकाकार भएर बाहिर निस्कने लेनिनवादी संगठनात्मक पद्दती हुन्छ ।

कम्युनिष्ट पार्टी भित्र बा, आमा, दाजु, सान्दाजु, ठूल्लाई केहि हुँदैन । सबै सबै कमरेड हुन्छन् । भौतिकवादी हुने भएकै कारण कम्युनिष्टहरु देवत्वकरणलाई अस्वीकार गर्छन् । व्यक्तिलाई देवत्वकरण गरियो भने निरंकुशताको जन्म हुन्छ भन्ने कुरामा कम्युनिष्टहरुको विश्वास हुनेगर्छ । निश्चित दर्शन, निश्चित सिद्धान्त र निश्चित विचार नभएका पुँजीवादी पार्टीहरुमा बापु, माता, दाजु, भाउजु जस्ता घरेलु नाता लगाउने गरिन्छ ।
‘बा’ का छोरा होईन एमाले बन भन्ने मेरा आग्रहको आलोचना गर्ने अधिकांस मेरा फेसबुक मित्रहरु आज पढ्न छाडेपनि हिजो कम्युनिष्ट कक्षा लिएका, दर्शन पढेका र प्रशिक्षणमा बसेकाहरु नै धेरै थिए । तर बिडम्बना उनीहरुको सोचमा यति छिटो खिया लागेको देख्दा विचरा मात्र भन्न सकिन्छ ।

मदन भण्डारी कहिल्यै बा बन्न रुचाएनन्

आज मदन जयन्ती । आजकै दिन चितवनको दासढुंगामा लगेर मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरिएको थियो । जुन हत्या आजपनि रहस्यभित्रै लुकेको छ । आजका प्रायः सबै एमालेजनहरुले तिनै मदनको सिद्धान्त अंगालेको दाबी गर्दछन् । जनताको बहुदलीय जनवादको पक्षधरताका बिषयमा एमाले भित्र अपनत्व लिने होड नै देखिन्छ । मदन भण्डारीको असली पथप्रदर्शक म हुँ भन्ने होडकै भरमा एमालेमा गुट बनेको छ । ती गुटहरुले हरेक दिन मदन भण्डारीको विचारको हत्या गरिरहेकाछन्, तर आफुलाई भण्डारीकै अनुयायी भन्न छाडेका छैनन् ।

ताकलिन नेकपा मालेको चौथो महाधिवेशनदेखि छैठौं महाधिवेशनसम्म नेतृत्व गरेका मदन भण्डारीले कहिल्यै आफुलाई ‘बा’ भनाउन रुचाएनन् । उनले आफुलाई मालिक र कार्यकर्तालाई दास बनाएको रुचाएनन् । फरक विचारलाई समेट्न र आलोचनालाई स्वीकार गर्न कहिल्यै पछि परेनन् ।

पाँचौ महाधिवेशनताका पार्टीमा फरक मत राख्ने सीपी मैनालीलाई मदनकै दोस्रो पुस्ताका नेताहरुले भौतिक सफाया सम्मको योजना बनाईरहँदा मदनले सीपी उम्मेदवार नबन्दासम्म आफुले उम्मेदवारी नदिने अडान लिएर फरक विचारको सम्मान गरे । भण्डारीकाे बहुदलिय जनबाद अत्याधिक मतले पारित हुँदा पनि भण्डारीले महाधिवेशनबाट पराजित बिचारका नेता मैनालीलाई केन्द्रिय समितिमा ल्याएरै छाडे । विलासिता भण्डारीले कहिल्यै चाहेनन् । पार्टी काम बाहेक अन्य बेला उनी काठमाडौंका सडकमा साइकलमा हिँडे । पार्टी प्रशिक्षण, पार्टी बैठक र भेलामा सेल्टर दिने घरवालालाई मदनले कहिल्यै जुठो भाँडा मझाएनन् ।

आज मदनकै पथप्रदर्शक दाबी गर्नेहरुले आफुलाई ‘बा’ भनाउन रुचाउँछन्, कार्यकर्ता र सहकर्मी नेताहरु दास र आफु मालिक बनाउने चाहाना राख्छन् । कार्यकर्ता मात्र सुन्ने हो बोल्ने हाईन भन्ने सोच राख्दछन् उनीहरु । बैठकमा अध्यक्ष बोलेपछि सबैले हस हजुर भन्दै जयजयकार गर्नु पर्ने संस्कृतिको विकास गर्दैछन् । अनि ठूला स्वरमा भन्दैछन्, ‘म मदन भण्डारीको असली उत्तराधिकारी हुँ ।’

फेरिपनि मेरो आग्रह छ एमालेजनलाई, नामका अगाडि कम्युनिष्ट शब्द झुन्ड्याइन्जेल कम्तीमा ‘बा’ संस्कार स्थापित गरेर कम्युनिष्ट आदर्शको बदनाम नगरौं । नेतालाई ‘बा’ बनाएर मदन भण्डारीको बाटो हिँडिदैन कमरेड, चेतना भया !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*