१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

१८ सय मिटर सडक ३६ महिनामा पनि भएन तयार, ठेक्का म्याद सकिएको ३ महिनापछि सरकारी निकाय भन्छ – कोभिडले रोक्यो



नेपालगन्ज । संघीय सरकारको बजेटबाट बन्दै गरेको बाँकेको खजुराको फोर लेन सडक ठेकेदार कम्पनीले समयमा सम्पन्न नगरेका कारण सडक किनारामा रहेका खजुराबासीहरु धुलो, हिलो र जोखिमयुक्त यात्रा गर्न बाध्य बनेका छन् । ठेक्का सम्झौता भएको ३ वर्षमा पनि खजुरा बजार क्षेत्रको १८ सय मिटर फोर लेन कालोपत्रे सहित सडक किनाराको ड्रे्नको काम सम्पन्न नगर्दा खुजुराबासी सहित बाँके बर्दिया दिनुहुँ यात्रा गर्ने यात्रीहरुले सास्ती खेप्नु परेको छ ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो, तर म्याद सकिएको ३ महिना पुग्न लाग्दा समेत ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले कार्य सम्पन्न गरेको छैन । बाँकेको खजुरा बजारको बिचभागमा एकतर्फी ड्रेन बनाएर वर्षौदेखि अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ । साबिक सडक भत्काएर निर्माणको काम आधाआधी गरेर छाडिएका कारण पानी नपर्दा धुलो र पानी पर्दा हिलो हुने गरेको छ भने निर्माणधिन सडकमा खसालिएको गिट्टी सवारी साधनले उछिट्याउँदा कतिपय सडक किनारका पैदल यात्रुहरु घाईते समेत बनेका छन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जले अनुगमन र निरिक्षण गर्ने गरि ३० करोड ३६ लाख लागत अनुमान गरिएको बर्दिया र बाँकेको गरि ४ किलोमिटर सडकलाई २१ करोड ४९ लाखमा ठेकेदार कम्पनीले गजुरमुखी निर्माण सेवाले ठेक्का कबुल गरेको थियो । सम्झौता अनुसार सडक बिचमा ग्रीन डिभाईडर र सडकको दुबै किनारमा नाली बनाउनु पर्ने थियो । तर ठेकेदार कम्पनीले खजुराको मुख्य बजारको बिचभाग सम्म नाली बनाएर काम रोकेपछि बजार क्षेत्र नै दुर्गन्धित बनेको छ । सम्झौतामा सडक बराबरको नाली बनाउनुपर्ने भएपनि ठेकेदारले परम्परागत पुरानो नालीमा ढक्कन लगाउन थालेपछि स्थानीयले विरोध गरेपछि ठेकेदार कम्पनी काम नै रोकेर बसेको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले भने नाली निर्माणका सम्बन्धमा भिओ गरिएको र केन्द्रबाट स्विकृत भएर आएपछि नाली बन्ने बताउँछन् ।

समयमा काम नसकिएपछि कार्यलयको तर्फबाट पटक पटक ताकेता गरिएपनि ठेकेदार कम्पनीले काम नसकेको डिभिजन प्रमुख एसीले बताए । ठेक्का सम्झौता अनुसार काम समयमा नसकेपछि ठेकेदार कम्पनीलाई जरिवाना गर्ने तयारी गरिएको उनले बताए । ‘काम रोकेर ठेकेदार भागेको अवस्था छैन र समयमा काम पनि सकेन ।’ उनले भने, – ‘पटकपटक भेटेर पत्र काटेर काम सम्पन्न गर्न भनेका छौं, काम त उनले गर्ने पर्छ, समयमा नसकेको जरिवाना लिन्छौं ।’

समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने निकाय आफै ठेकेदारकै भाषामा कोभिडको कारण र निर्माण समाग्रीको अभावका कारण समयमा काम नसकेको स्पष्टीकरण गर्ने गरेको छ । ‘चैत्र मसान्तमा काम सक्नु पर्ने हो, सकिएन, त्यसपछि कोभिडले डिस्टर्भ गर्यो र अहिले निर्माण समाग्रीले केही असहज बनाएको छ ।’ सडक डिभिजन प्रमुख एसीले भने, ‘तर उनले काम सक्नै पर्छ र सक्छन् ।’

समान्यतया सडकमा जम्मा हुने पानी सडक किनारको नालीमा स्वत जाने गरि सडक बन्नु पर्नेमा बाँकेको खजुरामा बन्दै गरेको फोर लेन सडकमा भने सडक भन्दा नालीको ढक्कन झण्डै एक फुट अग्लो बनाईएको छ र नाली सम्म सडक जोडिएको पनि छैन । सडक पिच गर्दा सम्म अग्लो नबनाईए सडकमा पानी जम्न सक्ने खजुराका स्थानीय रोसन सापकोटाले अनुमान गर्छन् ।

विगत ३ वर्ष देखि सडक बनाउने भन्दै धुलो र हिलोले नागरिकलाई आक्रान्त पार्दा स्थानीय तहबाट पनि समयमा काम सक्नका लागि खासै पहल भएको देखिएको छैन । खजुरा बजारमा बन्दै गरेको सडक आफ्नो मातहतको नभएको बताउँदै फेरिपनि ठेकेदारलाई समयमा काम सक्न आग्रह गरिएको खजुरा गाँउपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले बताए ।

अघिल्लो वर्षको निषधाज्ञामा लामो समय प्राबिधिक कर्मचारीहरु बिरामी परेर काम रोकिएका कारण समयमा काम सम्पन्न नभएको निर्माण व्यवसायी बामदेव रेग्मीले बताए । निर्माण समाग्री एक जिल्लाबाट अर्को जिल्लामा लैजान सरकारले प्रतिबन्ध गरेका कारण र जनशक्तिको अभावका कारण पनि समयसिमामा काम नसकिएको बताउँदै रेग्मीले बढीमा असोज मसान्त भित्र काम सक्ने गरि तयारी गरिएको बताए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ३४ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति