ओली, मोहनविक्रम र घनश्याम भुसाल

ऋषि आजाद
३१ आश्विन २०७८, आईतवार
                 

संसदमा जस्तै पार्टीभित्र पनि पक्ष प्रतिपक्ष बीच विचारधारात्मक सङ्घर्ष चलिरहन्छ । नेताले त्यो प्रकृतिलाई बुझ्नु पर्छ । तर विगतमा मोहन विक्रम सिंहले फरक विचारलाई खेल्न दिएनन् । पार्टीबाट निरन्तर निकालिरहे। तर पनि पार्टीमा निरन्तर फरक मत जन्मिरह्यो ।

फेरि पनि फरक मतलाई हटाउन छोडेनन् । उनी एमिबाइक प्रक्रियामा गए । एमिबा टुक्रिएर जन्मन्छ । अहिले पनि मसालबाट ससाना टुकुडीहरु निस्कने क्रम जारी छ । उनको पार्टी विचार जोगाउने नाममा आखिर छिन्नभिन्न भयो ।

लेखक

अहिले ओली प्रतिपक्षविहीन पार्टी बनाउने पक्षमा देखिएका छन् । तर वैज्ञानिक नियम अनुसार प्रतिपक्ष निरन्तर जन्मिरहन्छ । ओलीको यो प्रयास मैथुनिक प्रक्रिया नछोड्ने तर बच्चा जन्मनसाथ मार्ने कंश कृष्णको कथाजस्तै हो । यसले परिवार सङ्ख्या बढ्दैन र अन्ततः वंश विनास हुन्छ ।

अहिले ओलीले फरक मत राख्न नदिने नाममा आफू शक्तिशाली हुन कहिले बैठकमा फोटा टास्ने, कहिले बा भन्न लगाउने कहिले महाअधिवेशन परिसरमै बुख्याचा खडा गरेर आत्मरति लिने काम गरेका छन् ।

अहिले एमालेमा फरक धारको नेतृत्व वैचारिक नेता घनश्याम भुसालले लिएका छन् । उनी आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न चाहन्छन् तर प्रतिपक्ष नराख्ने मनोविज्ञानले ओलीले उनलाई महाधिवेशनसम्म पनि जान दिएनन् भने अचम्म मान्नु पर्दैन ।

पार्टीमा पक्ष प्रतिपक्ष विचारकोभन्दा सुविधाको स्वार्थमा बार्गेनिङ् गर्ने स्वार्थ गुटको रुपमा नआओस् कार्यकर्ताको चाहना यस्तो छ। एमालेका तमाम् कार्यकर्ता विचारधारात्मक सङ्घर्ष रहिरहोस् भन्ने चाहन्छन् । यो कुरा घनश्याम भुसालले लगायतका नौ भाइले राम्ररी बुझेकै कारण उनीहरुले एमाले छाडेनन् एमाले मै रहे । उनीहरु विधारधारात्मक सङ्घर्षको पक्षमा देखिएका छन् र पार्टीमा फरक धारको प्रतिनिधित्व गरिरहेका छन् ।

तर भोलि यो विचारधारात्मक समूह अस्तित्व रक्षाको नाममा मन्त्री खाने र राजदूत माग्ने शक्तिशाली गुट नहोस् । घनश्यामको स्तुत्य प्रयाश के हो भने २०४० सालदेखि बारम्बार अपमान सहेर भए पनि फरक मत राखिरहे, पार्टी छोडेनन् । पार्टीमा विचारधारात्मक सङ्घर्ष चलाई रहे । नैतिकतामा अडिरहे ।
एमालेको नबौं महाधिवेशनमा त उनको पुँजीवादी जनवादी कार्यक्रम नै स्वीकृत भयो । उनको नीति तथा कार्यक्रमको प्रभाव एमाओवादीसम्म परिसकेको थियो । उनी ४० सालतिर पार्टी स्वतन्त्रताका पक्षमा लडिरहँदा बहुदलीय जनवाद जन्मेर उनको विचारको औचित्य न‌ै सिद्ध भएको थियो । २०४६ सालको जनआन्दोलनले पार्टी स्वतन्त्रताको पक्षमा सार्थकता पाएको थियो ।

माधव नेपालको गुट स्वार्थको बार्गेनिङ् गर्ने गुट भएकोले पार्टी फुटालेर भएपनि मन्त्री खान पुगे । उनको गुट विचारधाराभन्दा स्वार्थ्यको रह्यो । अब यस स्वार्थबाट घनश्याम टाढा रहनु पर्छ । घनश्याम एउटा मन्त्री भन्दा प्रतिष्ठित छन् । उनलाई प्रम र मन्त्रीको कल्की भिर्न पर्दैन ।

अन्त्यमा पक्ष प्रतिपक्ष आवश्यक छ । त्यो पार्टीलाई गतिशील बनाउने डाइनमो हो । आगामी महाधिवेशनमा ओलीले जित्छन् तर फरक मत आउन नदिने नाममा घनश्यामलाई विस्थापित गरी विचारधारात्मक सङ्घर्ष रोकेर पार्टीलाई जड भुत्ते र कमजोर नबनाऔं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*