जुम्ली महिलाले जित्दै गरेको छुईविरुद्धको लडाइँ

दिलमाया शाही
२५ कार्तिक २०७८, बिहीबार
                 

जुम्ला । कर्णाली प्रदेशको केही जिल्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले ‘मनका गोठ’ भत्काउने अभियान थालेको थियो ।

गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिलाको ‘मनमा रहेका गोठ’ भत्काउने अभियान थालेको थियो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।

अभियानले महिनावारी हुँदा वनको गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ । अझै पनि केही महिला छुई हुँदा गोठमा गाईवस्तुसंगै बस्न बाध्य छन् । तिलागाउपालिका-१ की रारालिहीँ गाउँकी दुर्गा बुढाले भनिन्, ‘तर, हामीले भने अब स्वास्थ्यलाई दाउमा राखेर गोठमा बस्न सकिँदैन भनेर दुई वर्षदेखि घरको एक कोठामा छुई भएको बेला बस्ने गरेकी छु । उनले भनिन्, ‘गोठमै बसेर धेरै वर्ष बिते, श्रीमान्को प्ररेणाले अब घरमै बस्न थालेकी छु ।’ छुई हुँदा यहाँ तीनदेखि सात दिनसम्म बार्ने चलन छ ।

तिला गाउँपालिका र सर्वोदय नेपालले गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुईगोठमुक्त अभियान बारे छलफल चलाएपछि रारालिहीँ र लिहीगाउँलाई बुधबार छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ । स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको अध्यक्ष योगीको भनाइ छ ।

तिलागाउपालिका-१ की कार्यपालिका सदस्य बाटु बुढाले भनिन्, छुई प्रथा महिलालाई दबाउन गरिएको कार्य हो । यो कार्य अहिलेको समाज सुहाउँदो छैन । अब हाम्रो सुरक्षाको लागि भए पनि छुई गोठमा होइन बस्न तयार भएका हौँ,’ बुढाले भनिन, ‘अब हामी सबै महिला घरभित्रको एउटा कोठामै बस्न थालेका छौ ।’

जुम्ला तिला गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मै छुई गोठमुक्त गाउँ घोषणा गर्न सफल भएको उपाध्यक्ष बिष्णु बुढाले बताइन । उनले भनिन्, ‘राज्यले नै छाउपडी प्रथा अन्त्यका लागि निर्देशिका बनाएको छ । परम्परादेखि चलिआएको छुई प्रथा सबै मिलेर फ्याँक्नु पर्ने आश्यकता छ ।’

उनले धामीझाँक्री, सासुससुरा, पुरुष, किशोरकिशोरी सबैसँगको सहकार्यले मात्रै यो सम्भव हुने बताइन । ‘पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त बनाउने अभियान हो,’ उपाध्यक्ष बुढाले भनिन्, ‘सर्वोदय नेपालसँगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासँग छुईगोठमुक्त गाउँ घोषण गर्न तयार भएको छ । यो अभियान तिलागाउँपालिका मात्रै होइन जुम्लाका आठै वटा स्थानीय तहमा चलाउनु पर्ने आवश्यक छ ।’

छुइगोठमुक्त गाउँ घोषणा गर्न यहाँका संरचना पनि बाँधक बनेको स्थानीय धामी बिक्रम परियारले बताए । उनले भने, ‘अधिकांश घर दुई कोठाका छन् । एउटा भान्सा, एउटा सुत्ने कोठा,’ परियारले भने, ‘आफैँ छुई भयौँ भनेर गोठमा जान्छन् । आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसँग जुध्न सक्ने संरचना निर्माणमा जोड दिने आवश्यक छ ।’तर पनि केही वर्षयता गोठमा बस्ने चलन धमाधम हटेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

घरमै सुरक्षित नहुने महिला गोठमा बस्दामा के हालत होला भनेर सबै मिलेर समाजका यस्ता कुसँस्कृति अन्त्य हुुनु पर्ने निर्देशक खत्रीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*