९ फाल्गुन २०८२, शनिबार | February 22, 2026

एमाले महासचिव पोखरेलले लगाए प्रचण्ड र माधव नेपाललाई १२ आरोप : यस्ताछन् आरोप



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै १२ बुंदे आरोप सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत आरोप सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधव नेपालको अवसरवाद प्रमाणित भएको दाबी गरेका छन् ।

‘नेकपा कालमा प्रचण्ड र माधव नेपालले केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफुलाई चरम अवसरवादी भएको प्रमाणित गरे,’ उनले लेखेका छन्, -‘तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् ।’

पोखरेलले तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज रहेको समेत टिप्पणी गरेका छन् । उनले प्रचण्ड र नेपालका कदमहरुलाई सत्ता स्वार्थबाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान रहेको समेत बताएका छन् । ‘यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?’ महासचिव पोखरेलको प्रश्न छ ।

यस्ताछन् १२ बुंदे आरोप :

१)जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेका दुबैले अस्वीकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि रु

२)केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेका समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।

३) पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यताविपरित पार्टी र दल दुबैको एकसाथ नेता बन्न पुगे ।

४) नेकपा कालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर नेकाले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।

५) एमसीसीमार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका बेलामा सम्झौता समेत गरे । तर एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।

६) नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकाको नेतृत्वको सरकारमा निःशर्त सहभागी भए ।

७) नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।

८) माधव नेपालले सदैव आफुलाई विधि र पद्धतिको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।

९) अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०) नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।

११) हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनावमा जान खुट्टा कमाइ रहेका छन् ।

१२) नेकपा भंग भएपछि नेकपा (एमाले) संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा नेकाले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा (एमाले) सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।

यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट सञ्चालित अभियानहरू सत्ता स्वार्थबाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ०८ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय