१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थानीय निर्वाचन : तिलोत्तमा नगरपालिका मेयरमा एमालेबाटै चारजना आकांक्षी



बुटवल । आगामी स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जोडघटाउ सुरु हुन लागेको छ । गएको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ वटा वडामा आफ्नो पकड कायम गरेको एमालेले त्यो विरासतलाई जोगाउने गरी रणनीति बनाएको छ भने कांग्रेस पराजयको बदला लिने दाउमा छ । यद्यपि दुवै पार्टीमा आकांक्षीहरूको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ ।

तिलोत्तमा गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर पनि हो । आगामी निर्वाचनका लागि एमालेबाट मात्रै नगर प्रमुखका लागि चारजना आकांक्षी देखिएका छन् । वडा तहमा समेत वडाध्यक्षको टिकट पाउन स्थानीय नेताले लबिङ सुरू गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट नगर प्रमुखमा बासुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी निर्वाचित भएका थिए । घिमिरेसँग पराजित भएका कांग्रेस नेता रामकृष्ण खाँण अहिले पार्टीको जिल्ला सभापति छन् ।

आसन्न चुनावमा एमालेबाट नगर प्रमुखमा मोहन चापागाईं, पार्टी जिल्ला सचिव यज्ञ गैरे, हालका मेयर बासुदेव घिमिरे र जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज दिनेश फुल्लेल दाबेदार छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीको पनि प्रमुखमा दाबी छ । यसपालि महिलालाई टिकट दिनुपर्ने बताउँदै चौधरीले उपप्रमुख भएकाले आफ्नो दावेदारी स्वाभाविक रहेको बताइन् ।

चापागाईंले अबको तिलोत्तमाको नेतृत्वमा पार्टीको तर्फबाट आफूलाई अगाडि सार्नुपर्ने बताए । ‘राम्रो काम गरेकाहरू माथिल्लो तहमा जाने हो,’ उनले भने, ‘विगतमा अन्याय भएकाहरूलाई यो पटक अवसर दिनुपर्छ ।’

चापागाईंलाई नगर प्रमुखको टिकट दिने निर्णय अघिल्लो निर्वाचनमै एमालेले गरेको थियो । तर उक्त निर्णय उल्ट्याउँदै पछि वासुदेव घिमिरेलाई टिकट दिएको थियो । विगतको निर्वाचनमा निर्णय भएर पछि हटेको गुन तिर्न र न्याय गर्न पनि चापागाईलाई टिकट दिनुपर्ने अधिकांशको मत छ । उनले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, अकोराब, पत्रकार महासंघ, प्रेस चौतारीलगायतका संगठनमा रहेर काम गरेका छन् ।

अर्का आकांक्षी यज्ञ गैरेले निरन्तर पार्टी काम र जनताको बीचमा पुगेर काम गरेकाले यसपटक आफूलाई अवसर दिनुपर्ने दाबी गरेका छन् । गैरे बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, पाँच कार्यकाल जिल्ला कमिटी हुँदै अहिले एमाले जिल्ला सचिव छन् ।

त्यस्तै अर्का आकांक्षी दिनेश फुल्लेल एमाले रुपन्देहीको सचिवालय सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज छन् । उनी यातायात मजदुर तथा व्यवसायी भलाइ कोषको अध्यक्षसमेत हुन् । ‘मैले यसबीचमा जनताका बीचमा रहेर सुख दुःखमा साथ दिने अवसर पाएको छु भने जनताको भावना बुझेको छु, पार्टीमा सबैलाई सन्तुलन मिलाएर लैजानका लागि पनि पार्टीले यसपटक मलाई अवसर दिन्छ भन्ने विश्वास छ, फुल्लेलले भने ।

अघिल्लो चुनावमा नेपाली कांग्रेसले जनमुक्ति पार्टीसँग गठबन्धन गर्दासमेत नगर प्रमुखमा घिमिरेले दुई हजार तीन सय मतान्तरले जितेका थिए । गठबन्धनको चर्चा व्यापक भइरहँदा एमालेले पुनः घिमिरेलाई नै टिकट दिँदा सहज हुने चर्चा पनि छ ।

कांग्रेसमा तिलोत्तमा नगर प्रमुखमा अघिल्लो निर्वाचनका उपविजेता बनेका रामकृष्ण खाँणको कम चर्चा छ । किनकि उनी अहिले पार्टीको जिल्ला सभापति छन् । कांग्रेस वृत्तमा नेताहरू रोमणिप्रसाद पाठक, गुणनिधि भण्डारी, नारायण न्यौपानेलगायतको चर्चा छ । कांग्रेस महासमिति सदस्यसमेत रहेका पाठकले पार्टी नेतृत्वले सुझबुझ ढंगले अगाडि सारे नेतृत्वका लागि तयार रहेको बताए । उनी कांग्रेसका पुराना नेता हुन् । पाठक संस्थापनइतर समूहका नेता हुन् । उद्योगी व्यवसायीसमेत रहेका भण्डारी गृहमन्त्री खाँण निकट मानिन्छन् । न्यौपाने पार्टीको नगर सभापतिमा हरिलाल पाण्डेसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ३६ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी