१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा आउँदैछः तुफान



डम्बर विक तुफान नेकपा माओवादी केन्द्र बाँकेका संयोजक हुन् । भर्खरै मात्र संयोजकको जिम्मा पाएका तुफान खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खजुरामा चुनावी तालमेल गरेका छन् । यहाँ गठबन्धनबाट माओवादले अध्यक्षमा तुफान र उपाध्यक्षमा कांग्रेसले मञ्जु मल्ललाई उपाध्यक्ष उठाएको छ । यसअघि पनि माओवादीबाटै अध्यक्ष उठेर पराजित भएका तुफान यसपटक भने जित्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न लागिपरेका अध्यक्षका उम्मेदवार तुफानसंग गरिएको कुराकानी

चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ ?

चुनावी माहोल निकै उर्जाशील छ । हामीले उम्मेदवारी दिइसकेपछि पहिलो चरणमा घरदैलो कार्यक्रम चलायौं र सबै वडामा वडा अध्यक्षहरु लगायतका सबै उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर जनताका कुरा सुन्ने, जनताका समस्याहरु बुझ्ने, हामीले के गर्ने भन्ने प्रतिवद्धता गर्दै गयौंं । यसमा खजुरावासीले राम्रो प्रतिक्रिया दिनुभयो । हामीलाई जनताले उत्साहपूर्ण तरिकाले साथ दिनुभएको छ । सबै वडाहरुमा पाँच सय देखि एक हजार जना वडावासीको सहभागितामा घरदैलो भएको छ । त्यसैले खजुरालाई चुनावमय बनाउन हाम्रो गठबन्धनले सहयोग गरेको मैले अनुभूति गरेको छु ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट तपाईंले दिएको उम्मेदवारीलाई खजुरावासीले कसरी लिएको पाउनुभएको छ ?

पहिलो कुरा गठबन्धनबाट अध्यक्ष स्वीकार्ने भनेकै जनतामा घुलमिल भएको, जनताको नेतृत्व गरेको, विभिन्न ढंगबाट लोकतान्त्रिक आन्दोलनमा त्याग तपस्या गरेको, जेलनेल खाएको व्यक्तिलाई हो । र, दोस्रो कुरा मैले पनि लामै समयसम्म यही भूमिकामा टेकेर महान जनयुद्धको बेला बाँके बर्दियाको सेक्रेटरी भएरै नेतृत्व प्रदान गरेँ । मैले गणतन्त्र प्राप्तिका निम्ति खजुराका सबै दलहरुलाई एकजुट बनाउने र नेपालगन्जमा आन्दोलन गर्ने भूमिका खेलेँ । पछिल्ला दिनहरुमा सामाजिक विकास, सामाजिक न्याय र भौतिक पूर्वाधारका लागि विभिन्न ढंगबाट मैले जो पहलकदमी गरेँ, त्यसलाई जनताले नजिकबाट बुझ्नुभएको छ र मेरो उम्मेदवारीप्रति उत्साहित हुनुहुन्छ ।

तपाईलाई नै खजुरावासीले भोट दिएर किन जिताउने ?

अहिलेको व्यवस्थामा आफ्ना विचारहरु राखेर उम्मेदवारी दिनु सबै उम्मेदवारहरुको कर्तव्य हो । त्यस्तै मेरो सन्दर्भमा लामो समयदेखि संघीय गणतन्त्र नेपाल ल्याउन मैले राजनीतिमा जे–जस्तो त्याग तपस्या, जे जस्तो जेलनेल खाएको छु, यो कुरा खजुराका जनतालाई प्रत्यक्ष थाहा छ । अहिलेको सरकार भनेको तीनै तह संघ, प्रदेश र स्थानीय तहमा जनताबाट प्रत्यक्षरुपमा निर्वाचित हुन्छ । यो हामीले नै ल्याएको हो । र, यसका लागि मैले जे जस्ता मेहेनतहरु गरेँ, त्यसको नेतृत्व गर्न र सही ढंगबाट कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी हो । र, जनताले साथ दिनुभएको छ । म सधैं जनताको सुखदुःखमा संगसंगै छु । मलाई विश्वास छ, यो सबै कुराको मूल्यांकन गरेर जनताले मलाई भोट दिनुहुन्छ ।

तपाईं निर्वाचित भएपछि तपाईंले प्राथमिकता दिएर गर्ने कामहरु के–के छन् ?

पहिलो कुरा भनेको खजुरा गाउँपालिकाको स्थानीय विशेषता आफ्नै छन् । जस्तो स्थानीय तह कहाँ टिकेको छ, उसको आर्थिक आधार के हो, उत्पादन सम्बन्ध के हो, त्यो पहिले बुझ्नुपर्छ । हाम्रो गाउँपालिका भनेको कृषिमा आधारित गाउँपालिका हो । त्यसैले कृषिलाई आधुनिकिकीरण गर्दै कृषिलाई वैज्ञानिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र कृषिमा आधारित उद्योगहरु खोल्ने हो । साथै बाहिरबाट लगानी भित्र्याउनका लागि मैले नेतृत्व प्रदान गर्नुपर्छ । त्यस्तै जनताका लागि अति आवश्यक भौतिक विकासका कामहरु अघि बढाउने, निर्माण भएका सडकहरुमा खल्डाखुल्डीले गर्दा जनताहरु हिँड्न मिलिरहेको छैन । जहाँ बिजुली र खानेपानीको पहुँच पुगेको छैन । यी आधारभूत आवश्यकताको सम्बोधन गरिन्छ । अर्को कुरा शिक्षा, स्वास्थ्यका सन्दर्भमा पनि खजुरालाई रोलमोडलका रुपमा कसरी लैजाने भन्ने विषयलाई ध्यान दिएर काम गर्नुपर्दछ । कक्षा १२ सम्म कुनै न कुनै ढंगले निःशुल्क शिक्षा दिएर यहाँदेखि देशव्यापीरुपमा प्रतिष्पर्धा गराउने वातावणको सिर्जना गर्नुपर्छ । खजुरामा हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउने पनि प्रतिवद्धता गरेका छौं । खजुरावासी जनतामा जसको जहाँ पहिचान छ, संस्कृति छ, सोही रुपमा विकास गरेर पर्यटकीय सम्भावना बढाउने र जनताका जीवनमा परिवर्तन ल्याउने प्रतिवद्धतासहित अठोट गरेका छौं ।

अन्त्यमा तपाईं आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

म विशेषगरी समाजमा देखिने अन्याय, अत्याचारहरु विरुद्ध आवाज उठाउनुपर्छ भनेर राजनीतिमा लागेको हुँ । हिजो समाजमा छुवाछुतका रुपमा देखिएका अपमान र विभेदहरु, आर्थिकरुपमा धनीहरुले गरिबहरुलाई दमन गर्न तमसुक गराई उठिबास गराएका कुराहरु, गाउँमा सरकारको पहुँच नपुगेर भएका अन्यायका कुराहरु मैले सानो बच्चामा देखेँ र मेरो दिमागमा पर्यो । त्यतिबेलैदेखि नै राजनीतिमा होमिएँ । जनआन्दोलनबाट शान्ति प्रक्रिया भई यहाँसम्म आइपुग्दा मलाई लाग्छ २८ वर्ष मैले राजनीतिमा विताएको छु । म जुन अठोट बोकेर राजनीतिमा आएँ, त्यसै अनुरुप मैले सधैं इमान्दारिताका साथ जनताका बीचमा बसेर काम गरेको छु । अब स्थानीय सरकारको नेतृत्व गर्दै खजुरालाई बदल्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको छु । सम्पूर्ण खजुराबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा मेरो सादर अनुरोध छ कि खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा दिनुहोस्, हामीलाई विश्वास छ, खजुरा बनाउने जिम्मा मतदाताले हामीलाई दिँदै हुनुहुन्छ । हामी विकसित र समृद्ध खजुरा बनाएर देखाउँछौं । गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतका साथ विजयी बनाउन म खजुरेली जनतासमक्ष हार्दिक आग्रह गर्दछु ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : २५ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान