नरैनापुर । खडेरीका कारण भोकमरीको चपेटामा परेको बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताए ।
कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचित निर्णय लिन र नीति बनाउन समेत मद्दत पु¥याउने बताए । उनले पोर्टल संचालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यशालामा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताए । उनले गाँउपालिका संग सहकार्य गरेर वडा स्तरीयबाट तथ्याक संकलन गरी २ महिना भित्रै पोर्टल संचालनमा ल्याउने तयारी गरेको जानकारी दिए ।
पार्टल संचालनमा ल्याउनका लागि एसडिएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मानन्धर र रोजिना ढकालले प्रकोप सम्बन्धि कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजना सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न पोर्टल संचालनमा ल्याउन आवश्यक रहेको बताउदै उक्त पोर्टल संचालनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


















प्रतिक्रिया