१४ असार २०८३, आइतबार | June 28, 2026

बाढी पीडितभन्दछन् -‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा-दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।

बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढी पीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन् । कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ ।

“विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे”, बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भने, “चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ ।” अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनले बताए ।

“उम्मेदवार कबुलियतनामा प्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ”, सेन रानाले भने, “उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ ।”

“दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरु तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लीपट्टी, बडवैका र कटान जोगाउनका लागि महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमगत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ”, बाढी पीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरेको कबुलियतनामामा भनिएको छ, “यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजिनामा दिने छौँ ।”

बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपद् सङ्कट क्षेत्र मन्त्रिपरिषद्बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ । “वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन विना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, “निर्वाचनका बेला मत माग्नका लागि आए झै हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ ।”

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटा सन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ । युवा स्वरोजगारका लागि रहेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गरी कर्जा उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्नेछ । अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेण्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ । कबुलियतनामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यसपटकको निर्वाचनमा मत पाउने चौधरीको भनाइ रहेको छ ।

किसानलाई सहुलियत पूर्ण तरिकाले रासायनिक मल र प्राविधिक सेवाको सुनिश्चत गरी कृषि उपजको खरिद बिक्रीका लागि मूल्य निर्धारणसहित खरिद बिक्री केन्द्र स्थापना गर्नुपर्ने कुरा कबुलियतनामामा सर्तका रुपमा राखिएको छ । नगरपालिकाको वडा नं १२ बाढी ग्रस्त क्षेत्रका रुपमा परिचित रहेको छ ।

गत असोज महिनामा आएको बाढीबाट मात्रै २७ बढी परिवार विस्थापनमा परेका छन । बाढीले नदी तर्ने एक मात्रै झोलुङ्गे पुल भत्काई दिए पछि नदीमा अस्थायी काठको पुल बनाएर आवतजावत गर्दै आएका छन ।

बाढीको पानीले भत्काएका सडक अहिलेसम्म मर्मत नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् । बाढीका कारण धान, उखु, सखरखण्ड, मोमफलीलगायतको बालीमा किसानले निकै ठूलो क्षति व्यहोरेका छन् । बाढीले निकै क्षति गरे पनि हालसम्म हाल खबर सोध्नका लागि कोही नपुगको बाढी पीडित परिवारको गुनासो रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ५२ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट