२ भदौ २०८३, मंगलबार | August 18, 2026

बँदेल सिकारमा गएनन् नेपाली



बागलुङ । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।

यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

“पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उनले भने, “अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी र पहल गर्नुपर्ने देखिन्छ ।”

बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।

नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उनको भनाइ छ ।

“बँदेलले किसानको खेतीबाली खाइदिन्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, कँडेलले भन्नुभयो, “वैधानिकरुपमा सिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।”

विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने कँडेल बताउछन । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिकरुपमा सिकारका लागि नपुगेको स्थितिमा विभागले पहिलोपटक नेपालीलाई लक्ष्य गरी बँदेलको सिकार खुला गरेको थियो ।

विभागले बँदेलसँगै नाउर र झारलका लागि गत भदौमा बोलपत्र खुलाएको थियो । जसमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । आरक्षका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानाडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए ।

कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । नाउर र झारल सिकारका लागि विदेशी पेसेवर सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलले अर्को वर्षदेखि विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए ।

नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्छ । आरक्षका सातवटै सिकार ब्लकमा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ब्लकमा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए ।

बँदेलको सिकार खुलाउन कम्पनीले माग गर्दै आए पनि यो पटक सिकार हुन नसकेको उनको भनाइ छ । सिकारको अनुभव बटुल्नका लागि पनि नेपाली बँदेल सिकारमा आकर्षित हुनसक्ने थापाले बताए । नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ छ ।

विदेशी हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : १८ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति