१३ भदौ २०८३, शनिबार | August 29, 2026

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै चन्द्रकोटका निखिल



गुल्मी। केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए । अहिले २० वर्ष पुग्नुभएका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे। दुई लाख रुपैयाँ लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले ।

उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन् । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गर्नुभएका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दै छन् । आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ । वार्षिक रु एक लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा रु २५ लाख लगानी गरेका छन् । उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए । निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढे । त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उनी च्याउ खेती गर्नेमा बढी आकर्षित भए । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए ।

डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक रु दुई लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ । “च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ”, उनी भन्छन्, “वर्षभरलाई औसतमा हेर्दा मासिक दुई लाख आम्दानी हुन्छ ।” आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् ।

मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनले बताउनुभयो । च्याउ प्रतिकिलोग्राम रु एक सय ५० देखि दुई सयसम्म पर्छ ।

छ जनालाई आवासीय रोजगार

प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिएकाछन् । “आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु”, उनले भने ।

प्युठानदेखि आएका उनीहरुले सुविधाबाहेक मासिक रु १५ हजार पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्नेलगायतका सबै काम गर्नुपर्छ । योबाहेक सिजनमा अन्य कामदार राख्नुपर्छ ।

सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताए। अठार वर्ष पुगेपछि च्याउ खेतीमा लागेपछि अहिले व्यावसायिकतातर्फ गएका छन् । आफूले प्राविधिकतर्फ कृषिमा अध्ययन गरेपछि कृषिबाटै व्यवसायमा उन्मुख हुन्छु भन्ने सोच राखेको उनले सुनाए । “पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ”, उनी भन्छन्, “अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो”, निखिलले भने । बुबा धनबहादुर, आमा रोशनी र दाजु कमल निखिलको कृषि व्यवसायबाट सन्तुष्ट छन् । कक्षा ९ देखि १२ सम्म प्राविधिकरुपमा कृषि पढाएकाले छिट्टै व्यवसायतर्फ प्रेरित भएकोमा बुबाआमा खुसी छन् ।

लगानीसँगै निगरानी, व्यवस्थापन, इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ । “मलाई सुरुमा आफ्नैले विश्वास गर्नुभएन, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ”, उनी भन्छन् , “विश्वास त कर्मसँग हुनुपर्छ ।” आफूजस्ता हजारौँ युवा खाडीमुलुक गएकोप्रति चासो देखाउँदै निखिलले बाध्यताले विदेश जान नपर्ने बताउँछन् ।
च्याउ खपतको बजारीकरणमा कुनै समस्या नरहेपनि सहजताको हिसाबले चुनौती छ । उत्पादनलाई बुटवलसम्म पु¥याउन आफ्नै सवारीसाधन नहुँदा ढुवानीमा बढी खर्च हुने गरेको उनको अनुभव छ । बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने निखिलको अठोट छ । यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहज बनाउने रहेको भन्दै उनले स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग पनि सहयोग माग गरे । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फार्ममा रहने निखिलले आफू निरन्तर खटिएका कारण व्यवसायले सफलता पाउँदै गएको बताए।

च्याउको बीउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बीउ तयार हुन्छ । बीउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने, सफा गर्ने, ड्रममा पकाउने, २४ घण्टा सेलाउने, त्यसपछि पराल र बीउ मिसाउने, प्लास्टिकमा भर्ने, भरेपछि २० देखि २५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । निखिलले फार्ममा गाउँमै पाइने बाँसको प्रयोग गरेर च्याउ उत्पादन गर्ने टनेल बनाएका छन्।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि उद्यमीलाई सङ्गठित गरेर लैजाने र कृषि सहकारीमार्फत सजिलो गरिने बताएका छन् । उत्पादन तथा मागमा आधारित अनुदान दिने र कृषिमा ठोस कार्यक्रम ल्याउने उनले बताए। बजारीकरणको लागि ७५ वा ५० प्रतिशत अनुदानमा सवारी साधन उपलब्ध गराउने सम्बन्धमा पनि आफूहरु छलफलमा रहेको अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ३४ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक