२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्- पक्की पुल कहिले ?



बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका-२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन ।

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उनले भनिन, “प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।”

लालझाडी गाउँपालिका-४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्न उनी शुल्क तिर्ने गर्छन । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उनले बताए । “पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन”, उनले भने, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीय काठे पुल प्रयोग गरेवापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका-४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उहाँ नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएका छन । “दिनमा दुई सय भन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्”, उनले भने, “यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।”

सालको काठबाट फलेक जोडेर अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । “वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ”, स्थानीय सेमलाल रानाले भने, “काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला ?”

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । “बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन”, उनले भने, “सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।”

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ११ : २८ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल