बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन झडपको अवस्था आएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचारु गराइएको छ । कांग्रेसको दुईवटा गुटबीचको विवादले झडपको अवस्था आएपछि प्रहरी परिचालन गरी कार्यक्रम सुचारु गरिएको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएलगत्तै संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दीप पौडेलको नेतृत्वमा कार्यक्रम स्थल पुगेको तरुणदल र महिला संघ सम्बद्ध कार्यकर्ताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै नाराबाजी गरेका थिए ।
संस्थापन समूहका विद्यार्थी, तरुण र महिला नेताहरुले कार्यक्रम बिथोल्दै कार्यक्रमस्थलमा नाराबाजी सहित ब्यानर निकालेर केहिबेर कार्यक्रम स्थगित गराएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको आयोजक पक्षले आरोप लगाएको छ ।
पार्टीको कार्यक्रममा पार्टीको भातृ संगठनहरुलाई बेवास्ता गर्ने र अपमान गर्ने कार्य भएपछि आफुहरुले बिरोध जनाएको कांग्रेस क्षेत्र नम्बर २ का एक तरुण नेताले खबरकुरासँग भने । उनले पार्टीको जगका रुपमा रहेको विद्यार्थी, महिला लगायतको भातृ संगठनबिना केही नेताहरु मात्र बसेर सम्मेलन गर्न थालेकाले आफुहरुले ब्यानर निकालिदिएको उनले खबरकुरालाइ बताए ।
उता कांग्रेस क्षेत्र नम्बर २ का नेता प्रजापाल गिरीले भने सम्मेलनमा सामान्य विवाद मात्र भएको बताउँदै प्रजातान्त्रिक पार्टीमा छलफल हुनुलाई अन्यथा मान्न नहुने बताए । ‘कसैको प्रस्तुती अलि कडा भयो होला, अरु केही भएको होईन यो समाचार बन्ने विषय होईन ।’ उनले भने ।
संस्थापन इतरको बहुमत रहेको क्षेत्र नम्बरका २ का नेताहरुले कार्यक्रम बिथोल्ने काम पार्टी सभापति खाँणले गराएको आरोप लगाएका छन् ।
उता पार्टी जिल्ला सभापति खाँणले विवादको विषयमा आफुलाई केही थाहा नभएको बताए । आफु नगरसभाका लागि निस्कनुपर्ने भएकाले सम्बोधन गरेर निस्केको बताउँदै उनले विवाद भएको विषय निकैपछि आफुले सुनेको जानकारी दिए । ‘जनबर्गिय संगठनलाई आसन ग्रहण गराइदिएको भए हुन्थ्यो, खोई कि गराएनन् त्यो मलाई थाहा भएन, तर म नगरसभामा भएकाले विवादका विषयमा पछि मात्र थाहा पाएँ,’ उनले भने, ‘नगरसभाका लागि निस्केको म पार्टिको कार्यक्रममा नगइ नहुने भएर दौरा सुरुवालमै पुगेको थिएँ, बबाल भएको थाहा पाइन ।’
कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणबीच फोनमा भनाभन भएको बताइएको छ । परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेको इतर पक्षका एक नेताले बताए । स्थिती तनावग्रस्त भएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो ।



















प्रतिक्रिया