२९ पुस २०८२, मंगलबार | January 13, 2026

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उनले स्पष्ट गरे ।

‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’– उनले भने, ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताए ।

‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’– उनले भने, ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’

कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताए । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताए ।

कम्युनिष्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो– ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं । त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताए । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने बताए ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताए । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गरे ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताए। नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उनको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ४८ बजे

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई