बाँके । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उद्घाटन गरेका छन् ।
खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको सो सभाहलको अध्यक्ष प्रचण्डले बिहीबार उद्घाटन गरेका हुन् ।
सभाहलको उद्घाटनपछि बोल्दै प्रचण्डले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्क्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने धारणा राखे ।
सभाहल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७६ जेठ २१ गते अमर कन्स्ट्रक्सन प्राली कालिमाटी काठमाडौंसँग सम्झौता भएको थियो ।
यसको लागत अनुमान छ करोड ४२ लाख ८९ हजार ७९० रुपियाँ रहेकोमा चार करोड ८५ लाख ६१ हजार ५६१ रुपियाँमा निर्माण सम्झौता भएको हो । सभाहल तीन हजार ९९९ वर्गमिटर क्षेत्रफलको छ ।
यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले खजुरा ३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको उद्घाटन गर्नुभएको छ । स्मारक करिब ५० लाखको लागतमा निर्माण भएको खजुरा गाउँपालिकाका इन्जिनियर सोनु शाहले जानकारी दिए ।
पालिकाको २९ लाख १० हजार र स्थानीय जनश्रमदान १९ लाख ५४ हजार ९०६ रुपैयाँको लागतमा स्मारक निर्माण गरिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण भइरहेका गौरवका आयोजना प्राथमिकता दिएर काम अघि बढाएको बताए ।
यसअघि अध्यक्ष प्रचण्डले खजुराको धौलागिरीमा सहिद डम्बर रानाभाटको घरमा सहिद परिवारका सदस्यसँग भेटघाट गरेका थिउ ।
प्रतिक्रिया