२९ माघ २०८१, मंगलबार | February 11, 2025

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु



बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताए । प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको बताए। प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह ग रे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए । उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए ।

मन्त्री सिंहले आज ‘ब्रेक थ्रु’ भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल-गोरूसिङ्गे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे । उनले बुटवल-नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्‍याउने गरी निर्माण गर्न आग्रह गरे। गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उनले आग्रह गरे । ‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरूङमार्ग र बुटवल-गोरूसिङ्गे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताए ।

बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।

बुटवल-गोरूसिङ्गे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणको तयारीको काम अगाडि बढाएको थियो । सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको छ । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुबैतर्फबाट एकैपटक सुरू हुने आयोजनाले जनाएको छ ।

कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल-कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी-गोरूसिङ्गे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ । यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी-पिपरा र वनगाई-गोरूसिङ्गेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ । बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् । सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ ।

पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ । बजार क्षेत्रमा ६ वटा अन्डररओभर पास हुनेछन् । निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने ५ प्रतिशत काम सुरू गरेपछि भुक्तानी गरिनेछ । सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । यो सडकखण्ड स्तरोन्नतिको योजना रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएको बेलामा अगाडि बढेको थियो ।

आयोजना प्रमुख इन्जिनियर न्यौपानेले पनि बुटवल-नारायणगढ सडकमा भएका गल्तीबाट सिकेर नयाँ तरिकामा काम गर्ने योजना रहेको बताइन् । बजार र बस्ती क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेर मात्र बीचको भाग भत्काइने र सकेसम्म समस्या कम हुने गरी काम अगाडि बढाइने उनले बताइन् । निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक स्तरोन्नतिको काम सक्नुपर्नेछ ।

५० किलोमिटर सडक स्तरोन्नतिको लागि ७ हजार १७७ रूख काट्नुपर्ने आयोजनाले जनाएको छ । झण्डै २० किलोमिटर जंगल क्षेत्र रहेकोले धेरै रूख कटान गर्नुपर्ने न्यौपानेले बताइन् । बजार र बस्ती भएको क्षेत्रमा पनि वर, पिपल, स्वामी, कदम, सिमल लगायतका ठूला ठूला कल्पवृक्ष रहेका छन् । सबै क्षेत्रबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेकोले सडकको शिलान्यासपछि कटान सुरू गर्ने न्यौपानेले जानकारी दिइन् ।

वन नियमावली अनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा दस वटा बिरूवा रोप्नुपर्छ । यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ बिरूवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ । यो कामका लागि आयोजनाले चार करोड रुपैयाँ छुट्ट्याएको छ । बिरूवा लगाउने काममा आयोजना कार्यान्वयन हुने जिल्ला वन डिभिजन कार्यालयले समन्वय र सहजीकरण गर्नेछ ।

बुटवल-गोरूसिङ्गेको काम सुरू भएपछि गोरूसिङ्गे-चन्द्रौटाको ठेक्का लगाउने विभागको तयारी छ । त्यसपछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्म चरणबद्ध रूपमा सडक विस्तार गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ४३ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा