१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित



बरहथवा । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।

यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर-२ का पुनित महतोले बताए । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाएका उनी विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिए । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।

“यसअघि खेतमा पानीको उपाय नै थिएन”, उनले भने, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उनको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भने, “अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।”

स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर-६ बबरगन्जका किसान सुवोध साहले बताए । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उनको अनुभव छ ।

“यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भने, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताए । उनले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गरेका छन ।

पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताए । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उनको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताए ।

विद्युत् महसुल गाउँपालिकाले तिर्ने

चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।

आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताए । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उनको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उनले बताए ।

चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताए । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।

कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताए । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ३४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो