३० असार २०८३, मंगलबार | July 14, 2026

गोरखा–जितगढी एकीकरण पदयात्रा चैत २८ देखि



तनहुँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने ध्येयले गोरखा–जितगढी एकीकरण पदयात्रा आयोजना हुने भएको छ ।

नेपाली सेनाले यही चैत २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म पदयात्रा सञ्चालन गर्दैछ । पदयात्रालाई सफल बनाउने तनहुँका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नेपाली सेनाको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले यहाँ आयोजना गरेको बैठकमा उक्त पदयात्रालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रा ऐतिहासिक भएकाले स्थानीयको पनि साथ, सहयोग र सहकार्य हुन जरुरी रहेको भन्दै नेपालको ऐतिहासिक विषयवस्तु नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकामा जोड दिए ।

गोरखाबाट चैत २८ गते देखि सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोरखाबाट सुरु भएको पदयात्रा साँझ तनहुँको ऐतिहासिकस्थल सतिघाट हुँदै भानु नगरपालिका–१ भन्सार ग्रीनपार्क आइपुग्ने र त्यहाँ स्थानीयको सहभागितामा स्वागतको कार्यक्रम गरिने भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक पदयात्रामा स्वागत र साथ दिन जिल्लावासीलाई अनुरोध गरे । पदयात्राले नेपालको इतिहास बोकेको हुँदा सबै नेपालीले गौरव गर्नुपर्ने उनले बताए ।

गोरखा दरबारबाट चैत २८ गते सुरु हुने पदयात्रा सोही दिन ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भन्सारसम्म आइपुग्नेछ । गोरखाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।

भन्सारबाट २९ गते प्रस्थान गर्ने टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।

तनहुँसुर आएर उक्त पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ ।

धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुडदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए ।

पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाईंमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३०५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : १५ बजे

अन्तरिम आदेश उल्लंघन गरेको आरोपमा सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै सम्पत्ति छानबिन आयोगले

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता