७ आश्विन २०८३, बुधबार | September 23, 2026

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्नेगरी काम गर्नुको विकल्प छैन : महामन्त्री थापा

'कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो छ'



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताएका छन् ।

आज यहाँ बिपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेखेको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उनले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए ।

महामन्त्री थापाले भने,“युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।”

उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे । “नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ”, महामन्त्री थापाले भने ।

उनले बिपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए । “साहित्य जगत्मा बिपीबारे धेरै लेखिएका छन् तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ”, थापाले भने ।

लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बिपी कोइरालालाई चिन्ने बताए । “मैले साहित्यकार, राजनीतिज्ञलगायत विविध रूपमा परिचित बिपी कोइरालाको जीवनीबाट प्रेरित भएर उपन्यास लेखेको छु । आज यहाँ पाएको सुझाव र प्रशंसाले मलाई हौसला मिलेको छ”, उनले भने ।

उक्त पुस्तक लोकार्पण समारोहको आयोजना ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गरेको थियो

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज