१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत



पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो ।

अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छभने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो ।

इन्जिनियर ज्ञवालीले बाइपास-१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास-३ मा ‘इन्भर्ट’ को काम सुरु भएको बताइन् । बाइपास-१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको उनले उल्लेख गरिन् ।

“बाइपास-२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन् । बाइपास-३ मा १३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन्”, ज्ञवालीले भनिन् ।

यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिइन्। त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उनको भनाइ छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताइन् ।

यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन् ।

यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरिन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरिन् ।

सरकारले पाल्पा-सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताए ।

उनले भने, “आर्थिक मन्दीका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमा नसकिने हो भन्ने लागेको थियो । सरकारले बजेटमा प्राथमिकता दिएर रकम विनियोजन गरेपछि हामी ढुक्क छौँ ।”

स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजनाहरू बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यस खण्डलाई प्राथमिकतामा राख्नु हाम्रा लागि खुसीको विषय भएको बताए । बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमा सकिने भन्दै सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने धारणा राखे ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : ४२ बजे

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

गलकोट । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक

काठमाडौंका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ