काठमाडौं । विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् ।
यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कारलाई पनि राति नै क्रेनको सहायताले निकालिएको छ ।
उक्त कार हिजो (बुधबार) राति १०ः१० बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको थियो । खोला किनारको सडकमा गुडिरहेको बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए ।



















प्रतिक्रिया