खजुरा । व्यवस्थापन समिति चयमा हुने अनावश्यक राजनीतिका कारण सामुदायिक बिद्यालयको शैक्षिक स्तर कमजोर हुने गरेको सरोकारवालाहरुले बताएका छन् । बाँकेको खजुरा गाउँपालिकाको २ नम्बर वडा स्तरिय समग्र ब्यवस्थापनको सुधार गरी गुणस्तरिय शिक्षाको सुनिश्चितताका लागि सरोकारवालाबीचको अन्तरक्रियामा बोल्ने वक्ताहरुले प्रधानाध्यापक सक्रिय र चलायमान भएको बिद्यालयको नतिजा राम्रो आउने गरेको बताए ।
उनीहरुले सामुदायिक बिद्यालयमा अभिभावक र शिक्षकहरुबीच हातेमालो गर्नसके शिक्षाको गुणस्तरियता बृद्धि हुने बताए । अभिभावकहरु निश्क्रिय हुँदा ब्यवस्थापनमा सुस्तता आएको चर्चा गर्दै सहभागीहरुले बिद्यालयको शैक्षिक, बौतिक र ब्यवस्थापकिय सुधारका लागि अभिभावकहरुलाई सक्रिय सहभागी बनाउनुपर्ने बताए । पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थी अभाव हुने र संस्थागत बिद्यालयहरुले घरघर पुगेर बिद्यार्थी तान्ने गरेको प्रति चिन्ता ब्यक्त गर्दै उनीहरुले शिक्षक र अभिभावकबीच सम्बाद र सहकार्य हुन सके सामुदायिक बिद्यालयमा बिद्यार्थी रोक्न सकिने उल्लेख गरे । संस्थागत बिद्यालयमा भन्दा उच्च शैक्षिक योग्यता भएका शिक्षक रहेर पनि सामुदायिक बिद्यालयले आकर्षण दिन नसकेको प्रति सहभागीहरुको चिन्ता रहेको थियो ।
अन्तरक्रियामा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले तहगत प्रधानाध्यापक राखेिएको बिद्यालयले सफल नतिजा ल्याएको बताए । उनले नेपाल मै पहिले प्रयास स्वरुप खजुरामा तहगत शिक्षक मिलान गरिएको दाबी गर्दै घिस्रँदै गरेको खजुराको शिक्षा दौडन थालेको बताए । वातावरण मैत्री र शिक्षा मैत्री वातवरण प्रदान गर्ने लक्ष्य पूरा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष बिकले आगामी आवमा टिनको छाना रहित बिद्यालय र सबै बिद्यालयमा खानेपानी उपलब्ध हुने जानकारी दिए ।
उनले आफ्नो बालबालिकालाई सामुदायिक बिद्यालयमा पढाउने शिक्षकलाई सम्मान गरिने पालिकाले नीति बनाएको उल्लेख गर्दै आन्तरिक वडा स्तरिय शिक्षक सरुवाको ब्यवस्था गरिने बताए । बिद्यालय व्यवस्थापन समिति निर्माणमा हुने राजनीतिका कारण शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल नभएपनि खजुरामा सामुदायिक बिद्यालयले ६१ प्रतिशत बिद्यार्थी एसइईमा उतिर्ण गराउन सफल भएको बताए । खजुराका सामुदायिक बिद्यालय कमजोर नरहेको उनको भनाई छ ।
शिक्षक प्रतिनिधि पूर्ण प्रसाद सापकोटाले वडा स्तरिय शिक्षक सरुवाको व्यवस्था हुनसके गुणस्तरीय शिक्षाको नतिजा निकाल्न सहज हुने बताए । उनले बिद्यालय सुधारमा प्रधानाध्यापकको मुख्य भुमिका हुने जनाउँदै प्रधानाध्यापक बिद्यालय र अभिभावक प्रति उत्तरदायि र जवाफदेही भए बिद्यालयको समग्र प्रगति सम्भव हुने बताए ।
राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनप्रसाद रेग्मीले बिद्यालय सुधार र गुणस्तरीय शिक्षाका लागि शिक्षक संगठन राजनीति भन्दा माथि उठेर सहकार्य गर्न तयार रहेको बताए । उनले ब्यवहारिक शिक्षाका जोड दिँदै बिद्यालयमा शैक्षिक वातावरण बनाउन स्थानीय सरकार, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहने बताए ।
पालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले खजुरामा संस्थागत बिद्यालयले ८३ प्रतिशत एइईमा नतिजा ल्याउँदा सामुदायिकबाट ६१ प्रतिशत नतिजा ल्याउनु सकारात्मक रहेको दाबी गरे । उनले संस्थागत भन्दा सामुदायिक बिद्यालयमा दक्ष र सक्षम शिक्षकहरु रहेको उल्लेख गर्दै सामुदायिक बिद्यालयको आन्तरिक ब्यवस्थापनलाई मात्र चुस्त बनाउन सके शिक्षाले फढ्को मार्ने बताए ।
कार्यक्रममा खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, २ नम्बर वडाका वडा अध्यक्ष धनराम वली, शिक्षक महासंघका प्रतिनिधि लगायतले शैक्षिक अवस्था सुधार गर्न आ आफ्नो ठाउँबाट जुट्न सबैलाई आग्रह गरे ।


















प्रतिक्रिया