१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पामा टिमुरखेती



पाल्पा । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । उनले यहाँका प्रायजसोले बारीभरीमा टिमुर लगाएको बताइन् ।

‘यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, घर्तीले भनिन् । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ ।

पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छिन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ’, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उनी मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् ।

रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला-पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

असारको अन्तिम सातादेखि असोज-कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिब्दीकोट-६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए ।

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

उनले भने, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।’ एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ११ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै