२९ असार २०८३, सोमबार | July 13, 2026

अझै सम्पर्कमा आएका छैनन् हायू परिवार, शून्य छ आँगन



सिन्धुली । जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो घर अहिले शून्य छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हँुदा जिल्लावासी नै चकित छन् । श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायू (आमा) को छत्रछायाँमा परिवार चलेको थियो । यही परिवार चार दिनदेखि हराइरहेको स्थानीयवासी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उर्मिलासहित २७ वर्षीया कमला हायू (छोरी), २३ वर्षीया कोमल माया हायू (बुहारी), २२ वर्षीया उषा हायू (छोरी), १९ वर्षीया सुजता हायू (छोरी), १८ वर्षीया अस्मिता हायू (छोरी), १२ वर्षीया बालिका शान्ता हायू (छोरी) सम्पर्कविहीन छन् । यस्तै, २९ वर्षीय राजु हायू (छोरा), २४ वर्षीय हिमाल हायू (छोरा), १६ वर्षीय लालबहादुर हायू (छोरा), १४ वर्षीय बेगबहादुर हायू (छोरा), ११ वर्षीय लक्की हायू (छोरा), १२ वर्षीय सुवर्ण हायू (छोरा), १० वर्षीया ओमकुमारी हायू (छोरी), वर्ष एकको अर्जुन हायू (नाति) र चार वर्षीया रियासा हायू (नातिनी) आँगनमा नदेखिएको पनि चार दिन भयो । अन्य दुई जनाको परिचय खुलेको छैन ।

हायूको घर एकान्तमा भएकाले कुन दिनदेखि हराएका हुन् भन्ने यकिन जानकारी पनि छैन । स्थानीयवासी मोतीराज सापकोटाले भने,“सम्पर्कविहीन भएको हायू परिवारको घरमा गएर हेर्दा ढोका खुल्लै छन् । घर पालुवा पशुपन्छी भोक्कै छन् । भान्साघर जलेको छ । अन्य क्षति भएको देखिँदैन ।”

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार हायू परिवारले कहिलेदेखि घर छोडेका हुन् र हाल कहाँ छन् भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्राप्त जानकारीअनुसार यही साउन ५ गते परिवारका १६ जनाले खुर्कोटमा रहेको हिमालयन बैंकबाट तीन महिनाको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । लोपोन्मुख जाति भएकाले सरकारले प्रतिव्यक्ति मासिक रु तीन हजार ९९० का दरले भक्ता उपलब्ध गराउँदै आएको छ ।

यसैगरी साउन ८ गते सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गरेको र साउन ९ गते घरमा दुई वटा सुँगुर काटेर खाएको बुझिन आएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

भान्सामा आगलागी हुनुको कारण अझैसम्म खुल्न सकेको छैन । यति ठूलो परिवार छिमेकीलाई समेत खबर नै नगरी एक्कासि किन सम्पर्कविहीन भए भन्ने प्रश्न स्थानीयवासीमा उब्जिरहेको छ । आज वडाध्यक्ष रवीन श्रेष्ठसहित प्रहरी टोली घटनास्थल पुगेको थियो । “घटनाको प्रकृति हेर्दा सबै मिलेर योजना बनाएर हिँडेझैँ लाग्छ, तर, कहाँ गएका ? के उद्देश्यले गएका ? यकिन छैन”, वडाध्यक्ष श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार खोजीका क्रममा उर्मिला हायूको मोबाइलको अन्तिम लोकेसन रामेछाप देखिएको छ, तर हालसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन । “हामी सबै कोणबाट अनुसन्धान गर्दैछौँ”, उनले भने ।

प्रहरीले जङ्गल, खोच, आसपासका सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ, तर हालसम्म अवस्था पत्ता लागेको छैन । प्रहरीको अनुसन्धान जारी छ । जिल्ला प्रशासन, सिन्धुलीले सम्पर्कविहीन भएका हायू परिवारबारे कुनै पनि सूचना पाएमा वा देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अपिल गरेको छ । कतिपयले भत्ता बुझेपछि यो परिवार घुम्न गएको हुनसक्ने बताएपछि प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको जनाएको छ ।

हायू जाति नेपाल सरकारद्वारा लोपोन्मुख आदिवासी जनजातिको सूचीमा सूचीकृत छ । २०७८ को जनगणनाअनुसार यो जातिको जनसङ्ख्या तीन हजार ६९ मात्र छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ४० बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा