नवलपुर। नवलपुरको कावासोती–१५, अमलटारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वन क्षेत्रमा एक पोथी गैँडा मृत फेला परेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सोमबार साँझ पानी पिउन निस्किएको गैँडा मंगलबार बिहान मृत अवस्थामा भेटिएको हो। उनले उक्त गैँडा बूढो र बिरामी रहेको बताए।
गैँडा पानी पिएपछि बाहिर निस्कन नसकेपछि निकुञ्जका कर्मचारी र सामुदायिक वनका टोलीले बाटो खोलेर सहज बनाइदिए पनि केही टाढा पुगेपछि ढलेर मरेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले जानकारी दिए।
मृत गैँडाको अगाडिको खुट्टामा समस्या देखिएको र खाग तथा खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेको यो पहिलो गैँडा हो। गत आर्थिक वर्षमा भने २८ वटा गैँडा मृत फेला परेका थिए।


















प्रतिक्रिया