काठमाडौं । जापानी आक्रमणविरुद्धको सफलताको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले पहिलो पटक भव्य सैन्य परेडमार्फत् आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । आगामी भदौ १८ मा बेइजिङमा हुने सो समारोहमा चीनले आफ्ना आधुनिक हतियारहरू विश्वसामु प्रस्तुत गर्नेछ ।
बीबीसीका अनुसार परेडमा सयौँ युद्ध विमान, ट्याङ्क, एन्टी-ड्रोन प्रणालीलगायत अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गरिनेछ । चीनले यसअघि कहिल्यै अन्तर्राष्ट्रिय नेताहरूको उपस्थितिमा यस किसिमको शक्ति प्रदर्शन गरेको थिएन ।
समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । ओली साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन-२०२५ मा सहभागी हुन भदौ १६ गते चीनको तिआन्जिन प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली एससीओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै जापानी आक्रमणविरुद्धको चिनियाँ विजय र विश्वव्यापी फासीवादविरोधी युद्धको ८०औँ वार्षिकोत्सवमा पनि सहभागी हुनेछन् ।
उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ देशका शीर्ष नेताहरू उपस्थित हुने तय भएको छ । प्योङयाङस्थित कोरियन सेन्ट्रल न्युज एजेन्सीले किम जोङ उनलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ औपचारिक अतिथि हुने घोषणा गरेको छ ।
सन् १९३० र ४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धका क्रममा लाखौँ चिनियाँ नागरिकले ज्यान गुमाएका थिए । सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि र १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा हमला गरेपछि द्वन्द्व विश्वव्यापी रूपमा फैलिएको थियो । त्यसयता चीनले युद्धकालीन प्रतिरोधलाई स्मरण गर्दै शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ । चिनियाँ नेतृत्वले यस अवसरमा फेरि कहिल्यै बाह्य शक्तिको अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याउने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया