काठमाडौं । आज (भदौ २२ गते) २२ औं निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ । सन् २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनलाई स्मरण गर्दै २०६२ सालदेखि प्रत्येक वर्ष यस दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बिहान प्रभातफेरी गरिएको छ भने दिउँसो आयोजित मूल समारोहमा निजामती सेवामा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।
यस दिवसलाई निजामती सेवाको मूल्य–मान्यता, आदर्श, नैतिकता, सदाचारिता र निष्ठाप्रतिको प्रतिबद्धता प्रकट गर्ने अवसरको रूपमा लिने गरिएको छ । देशभर कार्यरत करिब ८५ हजार निजामती कर्मचारीका लागि यो दिवस कदर र उत्सवको दिन मानिन्छ ।
सेवा दिवस मनाउन मूल समारोह समितिको मातहतमा विभिन्न उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, अन्तर्क्रिया, फुटबल प्रतियोगिता, झाँकी प्रदर्शनी, र्याली र दीपावलीजस्ता गतिविधि तय गरिएको छ ।
काठमाडौँमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा हुने मूल समारोहमा यस वर्षको सर्वोत्कृष्ट, उत्कृष्ट र पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूको घोषणा हुनेछ । सोही अवसरमा अघिल्लो वर्ष घोषित कर्मचारीलाई पनि प्रमुख अतिथिबाट सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ ।



















प्रतिक्रिया