काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई छिटो मन्त्रिपरिषद् विस्तार गरी देशलाई शान्ति, सुशासन र निर्वाचनतर्फ केन्द्रित गर्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले फोन सम्पर्क गर्न खोज्दा सफल नभएकाले स्टाटसमार्फत सुझाव दिन बाध्य भएको उल्लेख गरेका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीलाई दिएरहेका मुख्य सुझावहरूमा राजनीतिक दलबाहिरका स्वच्छ, निष्ठावान र क्षमतावान व्यक्तिलाई मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने, शान्ति–सुब्यवस्था कायम गर्दै निर्धारित मितिमै स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्नुपर्ने, भाद्र २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र ध्वंस भएका संरचनाको पुनःनिर्माण सुरु गर्नुपर्ने विषय छन् ।
त्यसैगरी उनले भ्रष्टाचारविरुद्ध अघिल्लो सरकारले थालेका कारबाहीलाई निरन्तरता दिँदै सुशासनको अभियानलाई अगाडि बढाउनुपर्ने र प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभामार्फत संघीय संसदको भूमिकामा ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् ।
“प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । यदि सरकार असफल भयो भने देश भयावह सङ्कटमा धकेलिनेछ,” उनले भनेका छन् ।
श्रेष्ठले चुनावलाई राष्ट्रिय सहमतिका आधारमा सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।


















प्रतिक्रिया